काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बीवाईडी डल्फिनको २०२५ संस्करण सार्वजनिक गरेको छ। नयाँ संस्करणमा लिथियम आइरन फस्फेट (एलएफपी) लो भोल्टेज ब्याट्री (एलभीबी) जडान गरिएको छ ।
यसले परम्परागत लिड–एसिड ब्याट्रीलाई प्रतिस्थापन गरेको छ। कम्पनीका अनुसार यो ब्याट्री हलुका, कम सेल्फ–डिस्चार्ज हुने र करिब १५ वर्ष आयु हुने अनुमान छ।
डल्फिन २०२५ मा बीवाईडीको ई–प्लेटफर्म ३।० र ब्लेड ब्याट्री प्रविधि प्रयोग गरिएको छ। यसले ३४० किलोमिटर डब्लुएलटीपी रेन्ज दिने बताइएको छ। गाडीको ब्याट्री ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिने क्षमता रहेको छ।
नयाँ संस्करणमा नेपालको सडक र भू–परिस्थितिमा उपयुक्त हुने गरी सस्पेन्सन ट्युनिङ गरिएको छ । यस्तै रातमा दृष्टिलाई सुधार गर्ने एलईडी हेडलाइट्स, सुधारिएको एसी सिस्टम र एनएफसी की जस्ता फिचर यसमा थपिएका छन् । ब्लुटुथ की र प्यासेन्जर डोर स्विचजस्ता सुविधा पनि यस संस्करणमा छन् ।
नयाँ संस्करण एटलान्टिस ग्रे, अर्बन ग्रे र स्की ह्वाइट रंगमा उपलब्ध छ। यसको मूल्य रु ४१ लाख १५ हजार तोकिएको छ जसमा ७ किलोवाटको होम चार्जर पनि समावेश छ।
https://www.youtube.com/watch?v=L6cXk62pGcY
बीवाईडी डल्फिनका ८ लाख ३० हजार युनिट विश्वभर डेलिभर भइसकेका छन्। नेपालमा हालसम्म करिब २ हजार ४९० युनिट डेलिभर भएका छन्।
गाडी बीवाईडीका शोरूम तथा डिलर नेटवर्कहरूमा टेस्ट ड्राइभ र बुकिङका लागि उपलब्ध छ।
साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले आफूहरू टिकाउ मोबिलिटी र ग्राहककेन्द्रित नवप्रवर्तनमा प्रतिबद्ध रहेको जनाइन् । बीवाईडी डल्फिन २०२५ को फिचर मात्र अपग्रेड भएको नभई यो नेपालका लागि हरित भविष्यतर्फको यात्रामा निरन्तरता भएको उल्लेख गरिन् ।
साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले बीवाईडी डल्फिन गाडी मात्र नभई इलेक्ट्रिक जीवनशैलीको वाहक भएको दाबी गरे । हरेक नयाँ संस्करणमार्फत आफूहरू स्वदेशी ऊर्जाको खपत र शून्य कार्बन उत्सर्जनमा केन्द्रित रहेको बताए ।




































