काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट जनधनमा अपूरणीय क्षति पुगेको भन्दै गहिरो दुःख व्यक्त गरेको छ।
संघले एक विज्ञप्ति जारी गर्दै घटनाले धेरै परिवारको ज्यान, घर, व्यवसाय र आशा एकैचोटि बगाएको बताउँदै पीडितहरूप्रति गहिरो समवेदना प्रकट गरेको हो । संघले विपद्का घाइते र पीडितहरूलाई शक्ति, धैर्य र पुनःस्थापनाको आशा मिलोस् भन्ने कामना गरेको छ।
संघका अनुसार बाढीले भौतिक संरचनामा मात्र होइन, सवारीसाधन आपूर्तिमा समेत गम्भीर असर पारेको छ।
चिनियाँ भन्सारबाट क्लियर भएका सयौं गाडीहरू नेपाल प्रवेश गर्न नसकेको र चाडपर्व नजिकिँदै गर्दा बजारमा सवारीको अभाव हुने सम्भावना बढेको संघकी अध्यक्ष ऋतु सिंह वैद्यको भनाइ छ।
संघले नेपाल सरकार र सम्बन्धित निकायहरूलाई उद्धार, राहत, पुनःस्थापना र पूर्वाधार पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ। तत्कालीन आवश्यक्ताका विषयमा संघले समन्वयकारी भूमिका निर्वाह गर्न सधैं तत्पर रहेको जनाएको छ।



































