काठमाडौं । यामाहा नेपालले गोरखामा नयाँ 3S फ्यासिलिटी (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) चन्दा सप्लायर्समार्फत सञ्चालनमा ल्याएको छ।
शो–रुमको उद्घाटन गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगर, उपप्रमुख मसलीमाया थोकर र प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले संयुक्त रूपमा गरेका थिए। कार्यक्रममा एमएडब्ल्यूराइड्स प्रा.लि.का कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालको पनि उपस्थिति थियो।
यस नयाँ सुविधा मार्फत ग्राहकहरूले मोटरसाइकल तथा स्कुटरको बिक्री, सर्भिस तथा जेनुइन स्पेयर पार्ट्स एउटै स्थानमा पाउने व्यवस्था मिलाइएको छ।
उद्घाटन समारोहकै अवसरमा, यामाहा नेपालले आफ्ना FZ र MT सिरीजका नयाँ भेरियन्ट सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यी मोडलमा स्टाइल र फिचरमा सुधार गरिएको छ।
कार्यक्रममा बोल्दै एमएडब्ल्यूराइड्स प्रा.लि.का कार्यकारी निर्देशक अग्रवालले गोरखामा नयाँ शो–रुम सञ्चालनले ग्राहकहरूसम्म सेवा र उत्पादन पुर्याउन सहज हुने बताए। त्यस्तै, चन्दा सप्लायर्सका कार्यकारी निर्देशक चन्दन बाबु खत्रीले बिक्रीसँगै भरपर्दो बिक्रीपछिको सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
यससँगै यामाहा नेपालले आफ्नो डिलर सञ्जाललाई गोरखा क्षेत्रमा विस्तार गरेको छ। अब यस क्षेत्रका ग्राहकहरूले कम्पनीका मोटरसाइकल, स्कुटर, सर्भिस तथा स्पेयर पार्ट्स स्थानीय स्तरमै पाउने छन्।



































