काठमाडौँ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को १७ औँ संस्करणको नाडा अटो शोको उद्घाटन भएको छ । उक्त उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष करण चौधरीले नेपालको अटो मोबाइल क्षेत्रले देशको अर्थतन्त्र र रोजगारीमा महत्त्वपूर्ण योगदान पुर्याएको बताए ।
आज मंगलबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शोको विशेष समारोहलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले यो क्षेत्रले १० लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको र ३ हजारभन्दा बढी व्यवसायीलाई संगठित गरेको दाबी गरेका छन्।
साथै, चौधरीले नाडा अटो शो केवल सवारीसाधनको प्रदर्शनी नभई समग्र अटो मोबाइल क्षेत्रको एक प्रमुख व्यावसायिक थलो भएको पनि बताएका छन् ।
अध्यक्ष चौधरीले युवा शक्ति पलायन देशको प्रमुख चुनौती भएको उल्लेख गर्दै नाडाले सीप विकास र रोजगारी सिर्जनामार्फत यसलाई रोक्न पहल गरिरहेको बताए ।
‘हामी सीप पनि दिन्छौं, रोजगार पनि दिन्छौं,’ उनले भने, ‘युवालाई देशमै अवसर छ भन्ने विश्वास दिलाउन हामी सरकारसँग सहकार्य गर्न तयार छौं ।’ यस वर्षको अटो शोमा नयाँ आकर्षणहरू थपिएको जानकारी दिँदै चौधरीले पहिलो पटक ह्युमोनोइड रोबोट र दक्षिण एसियामै पहिलो पटक 'भर्टिकल फ्लाइङ ट्याक्सी' सार्वजनिक गरिएको बताए ।
साथै ‘मेड इन नेपाल’ पविलियनमार्फत टायर, ब्याट्री, लुब्रिकेन्ट्स जस्ता स्वदेशमै उत्पादित पार्टपुर्जालाई प्रोत्साहन गरिएको उनको भनाइ थियो । सवारी खरिदमा फाइनान्सिङको समस्या रहेको स्वीकार्दै उनले आगामी मौद्रिक नीतिको समीक्षाबाट यसको समाधान निस्कनेमा आफू आशावादी रहेको उनको भनाई छ । उनले नाडाले उपभोक्ता, व्यवसायी र सरकार सबैको हितमा काम गर्न सधैं तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको यस अटो प्रदर्शनीमा टेस्ला,टाटा, सुजुकी, बीवाईडी, हार्ले डेविड्सनलगायत १०० भन्दा बढी ब्रान्डका सवारीसाधन, पाट्र्स, उपकरण र वित्तीय सेवाहरू समावेश छन्। दैनिक १०ः३० देखि ७ बजेसम्म सञ्चालन हुने यो शो अवलोकन गर्न एक लाखभन्दा बढी दर्शक आउने अपेक्षा गरिएको छ।



































