काठमाडौं । विकास बैंकहरुको नाफामा चालु आर्थिक वर्षमा उल्लेख्य सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आवको ११ महिनासम्ममा विकास बैंकहरुले कुल ७ अर्ब २१ करोड ५९ लाख रुपैयाँ नाफा कमाएका छन्, जुन गत आवको सोही अवधिको तुलनामा ३६.२० प्रतिशतले बढी हो।
गत आर्थिक वर्षको ११ महिनासम्ममा विकास बैंकहरुले ५ अर्ब २९ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए।
चालु आवमा अधिकांश बैंकहरुको नाफामा सुधार देखिएको भए पनि तीन बैंक भने अझै घाटामा रहेका छन्।
नाफा आर्जन गर्ने बैंकहरुमध्ये गरिमा विकास बैंक अग्रस्थानमा रहेको छ। बैंकले १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत आवको तुलनामा करिब ३३ प्रतिशतले बढी हो।
यस्तै, मुक्तिनाथ विकास बैंकले पनि उल्लेख्य प्रगति गर्दै १ अर्ब २६ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ। बैंकको नाफा गत आवको तुलनामा २०.२३ प्रतिशतले वृद्धि भएको छ।

यस अवधिमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ। त्यस्तै, ज्योति विकास बैंकले ८१ करोड ६१ लाख, कामना सेवा विकास बैंकले ७५ करोड ५९ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले ६० करोड ६८ लाख र महालक्ष्मी विकास बैंकले ५४ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।
यस्तै, लुम्बिनी विकास बैंकले ५२ करोड ७४ लाख, एक्सेल डेभलपमेन्ट बैंकले १६ करोड १८ लाख, मितेरी डेभलपमेन्ट बैंकले १२ करोड ११ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकले ६ करोड २३ लाख, ग्रीन डेभलपमेन्ट बैंकले ५ करोड ३६ लाख र कर्पोरेट डेभलपमेन्ट बैंकले ३ करोड ७५ लाख रुपैयाँ नाफा कमाएका छन्।
तर, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र सालपा विकास बैंक भने घाटामा रहेका छन्। नारायणीले ६ करोड ७ लाख, सिन्धुले ४ करोड ४१ लाख र सालपाले ४७ लाख रुपैयाँ घाटा व्यहोरेका छन्।


































