काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म उल्लेख्य नाफा वृद्धि हासिल गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा ८६ प्रतिशतभन्दा बढीले बढ्दै १५ करोड ४ लाख रुपैयाँ पुगेको छ।
यद्यपि, बैंकको खुद ब्याज आम्दानीमा सामान्य गिरावट देखिएको छ। अघिल्लो वर्ष २३ करोड ४५ लाख रुपैयाँ रहेको यस्तो आम्दानी घटेर समीक्षा अवधिमा २३ करोड ३४ लाख रुपैयाँमा सीमित भएको छ।
समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज १९ करोड ६९ लाख रुपैयाँले रिभर्स भएको छ। निष्क्रिय कर्जा अनुपात (एनपीएल) पनि उल्लेख्य रूपमा घट्दै अघिल्लो वर्षको १०.६५ प्रतिशतबाट ६.१५ प्रतिशतमा झरेको छ।
तर, बैंकको रिटेन्ड अर्निङ ५५ करोड ८८ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ। वितरणयोग्य मुनाफा पनि सोही रकमले ऋणात्मक नै छ। यद्यपि, बैंकको रिजर्भ ३४ करोड ५३ लाख रुपैयाँबाट बढेर ४४ करोड ८० लाख रुपैयाँ पुगेको छ।
व्यावसायिक विस्तारतर्फ बैंकले प्रगति गरेको देखिन्छ। असार मसान्तसम्म कर्जा प्रवाह ५ अर्ब ५६ करोड २५ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ५ अर्ब १ करोड ८३ लाख रुपैयाँभन्दा बढी हो। त्यस्तै, निक्षेप संकलन पनि ५ अर्ब ३३ करोड ७० लाख रुपैयाँबाट बढेर ८ अर्ब ८८ करोड ५२ लाख रुपैयाँ पुगेको छ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ९.६९ रुपैयाँबाट बढेर १८.०४ रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ ८६.७१ रुपैयाँ, तरलता अनुपात ३९.४१ प्रतिशत, मूल्य–आम्दानी अनुपात ४०.४८ गुणा र पूँजी कोष अनुपात ११.२९ प्रतिशत रहेको छ।


































