काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलको बैठकमा सरकारको आलोचना भएको छ ।
पूर्व गभर्नर महाप्रसाद अधिकारीले गएको चैत २४ मा अवकाश पाएपछि सरकारले रिक्त गभर्नर पदमा नियुक्ति गर्न सकेको छैन । कांग्रेसले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् अर्थविद् विश्व पौडेलको नाम गभर्नरका लागि प्रस्ताव गरेको एक हप्ता बितिसकेको छ । पौडेलले गएको आइतबार नै गभर्नर सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका थियो ।
अहिलेसम्म पनि गभर्नर नियुक्तिका लागि प्रक्रिया अघि नबढेको भन्दै कांग्रेस सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिकामाथि आशंका व्यक्त गरेका छन् । बानेश्वरमा बसेको बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवाले गभर्नरबारे कुनै धारणा नराखेको नेताहरूले बताएका छन् ।

































