काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अन्तर्राष्ट्रिय वित्तीय पत्रिका ‘ग्लोबल फाइनान्स’ को वार्षिक मूल्यांकनमा ‘बी’ ग्रेड प्राप्त गरेका छन्। पत्रिकाले सार्वजनिक गरेको ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड्स’ मा गभर्नर पौडेललाई उक्त ग्रेड प्रदान गरिएको हो।
ग्लोबल फाइनान्सले नेपालको बाह्य क्षेत्रको स्थायित्व सुदृढ बनाउन तथा मूल्यवृद्धि नियन्त्रणमा राख्न सफल भएको विषयलाई गभर्नर पौडेलको प्रमुख उपलब्धिका रूपमा मूल्यांकन गरेको छ।
वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणको बलियो प्रवाहका कारण गत जुन महिनामा नेपालको विदेशी विनिमय सञ्चिति २४ अर्ब अमेरिकी डलर नाघेर ऐतिहासिक उचाइमा पुगेको थियो। यसलाई नेपालको बाह्य क्षेत्रको स्थायित्वका लागि सकारात्मक उपलब्धिका रूपमा प्रतिवेदनमा उल्लेख गरिएको छ।
त्यस्तै, गभर्नर पौडेलको कार्यकालको सुरुवाती समयमा मुद्रास्फीति १ देखि १.५ प्रतिशतसम्म झरेको थियो। त्यसपछि बढेर करिब ५ प्रतिशतसम्म पुगे पनि मुद्रास्फीति निर्धारित लक्ष्यभित्रै सीमित रहेको ग्लोबल फाइनान्सको मूल्यांकन छ।
के–के छन् गभर्नरका चुनौती ?
ग्लोबल फाइनान्सको मूल्यांकनअनुसार गभर्नर पौडेलका लागि सबैभन्दा ठूलो चुनौती वित्तीय क्षेत्रको सुपरिवेक्षण क्षमता थप सुदृढ बनाउनु हो।
नेपालको बैंक तथा वित्तीय प्रणालीको नियमन र निगरानीलाई प्रभावकारी बनाउनु उनको प्रमुख प्राथमिकतामा पर्नुपर्ने प्रतिवेदनले औंल्याएको छ।
त्यस्तै, नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्नु अर्को महत्वपूर्ण चुनौतीका रूपमा देखाइएको छ।
सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा हुने वित्तीय लगानी नियन्त्रणसम्बन्धी व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसार वित्तीय प्रणालीलाई सुदृढ बनाउनु आवश्यक देखिएको छ।
कसरी गरिन्छ केन्द्रीय बैंकका गभर्नरको मूल्यांकन ?
ग्लोबल फाइनान्सले प्रत्येक वर्ष विश्वभरका केन्द्रीय बैंकका गभर्नरहरूको कार्यसम्पादन मूल्यांकन गरी प्रतिवेदन सार्वजनिक गर्दै आएको छ।
मौद्रिक नीति सञ्चालन, मुद्रास्फीति नियन्त्रण, वित्तीय प्रणालीको सुपरिवेक्षण, पारदर्शिता, राजनीतिक स्वायत्तता तथा राष्ट्रिय आर्थिक लक्ष्य प्राप्तिमा गभर्नरले खेलेको भूमिकालाई मूल्यांकनको आधार बनाइन्छ।
यस मूल्यांकनमा गभर्नरहरूलाई ‘ए प्लस’ (उत्कृष्ट) देखि ‘एफ’ (सबैभन्दा कमजोर) सम्मको ग्रेड प्रदान गरिन्छ।
यस वर्ष गभर्नर पौडेलले ‘बी’ ग्रेड प्राप्त गरेका हुन्।


































