काठमाडौं। पेन्सन पाउनलाई सरकारी जागिर नै खानु पर्छ ? पर्दैन ? नागरिक लगानी कोषको नागरिक पेन्सन योजनाले सबैको पेन्सन पाउने रहरलाई पुरा गर्नेछ । पेन्सन पाउन सरकारी जागिर नै खानुपर्ने सोच आम नेपालीमा छ । अब जुनसुकै व्यक्तिले पनि यस योजनमा सहभागी भएर पेन्सन पाउन सक्नेछन् ।
नागरिक लगानी कोषले प्रत्येक नागरिकले पेन्सन पाउने गरी एक आकर्षक योजना सञ्चालन गरिरहेको छ ।
नागरिकले पेन्सन पाउन कम्तीमा पाँच सय रुपैयाँ जम्मा गर्नुपर्नेछ भने बढीमा जति जम्मा गरे पनि पाइन्छ । जति बढी रकम जम्मा गरियो उति बढी पेन्सन पाइने कोषका सूचना अधिकारी उद्धव सिलवालले जानकारी दिए । बचत रकम अनुसारको पेन्सन हुने भएकाले जति धेरै रकम बचत भयो, त्यति नै बढी पेन्सन प्राप्त हुन्छ, उनले भने, ‘बचत गरेको रकमकै आधारमा बचतकर्ताले ६० वर्ष पूरा भएपछि पेन्सन पाउन सक्नेछन् ।’
मजदुरी गर्ने, रोजगारी भएका, व्यापार व्यवसाय गर्ने, कृषि कर्म गर्ने र अन्य नागरिकले समेत यस योजनामा रकम जम्मा गरेर पेन्सन पाउन सक्नेछन् । यदि कसैले बिचमा नै छाड्न चाहेमा सो व्यक्तिको बचत रकम र सो रकमबाट प्राप्त ब्याजसहित फिर्ता हुनेछ । तर यस योजनामा सहभागी भएको कम्तीमा २ वर्षसम्म भने छाड्न पाइने छैन। २०७७ आश्विन देखि सुरु गरिएको यो योजना नेपालका लागि पहिलो कार्यक्रम रहेकाले सर्वसाधारणको आर्कषण व्यापक रहेको सिलवालको भनाई छ ।
उनले भने,‘यो योजनामा छोटो अवधिमा नै सर्वसाधारण एवं स्वरोजगार व्यक्तीहरुको उल्लेख्य सहभागिता रहेको छ।’ उक्त योजनामा सहभागी हुन अनलाइन रजिस्टर्ड सेवा समेत सुरु भैसकेको उनले बताए । नागरिक पेन्सन योजनामा हालसम्म सहभागी भएका ५५ सय नागरिकको बचतबाट १७ करोड ५० लाख जम्मा भएको उनको भनाई छ ।
पेन्सन बचतमा कसरी सहभागी हुने ?
यस योजनामा सहभागी हुन व्यक्तिको परिचय खुल्ने कुनै पनि कागजात वा नागरिकताको फोटो कपि कोषमा पेश गर्नुपर्नेछ । अफिसमा जोडिएको छ भने उसले अफिसमा पेश गरेको डकुमेन्ट भए हुन्छ र छैन भने नागरिकताको फोटो कपि चाहिन्छ ।
त्यसपछि एउटा केवाइसी फर्म (ग्राहक परिचय खुल्ने फारम) भर्नुपर्छ । यो फाराम कोषको वेवसाइट वा कोषको कार्यालयमा गएर लिन सकिनेछ । त्यसपछि ऊ नागरिक लगानी कोषको कार्यालयमा कोषले दिने कार्डका लागि उपस्थित हुनुपर्दछ । सो कार्डमा नम्बर हुन्छ र सोही नम्बरको आधारमा खाता खोलिन्छ ।
त्यसपछि मासिक भुक्तानी मोबाइल, वालेट लगायत विद्युतीय भुक्तानीबाट गर्न सकिन्छ । कम्तीमा ५ सय रुपैयाँ राख्नै पर्ने व्यवस्था रहेको छ ।
१५ वर्षमा साँवा व्याज जति जम्मा भएको छ, त्यसलाई १७० ले भाग गर्दा जति हुन आउँछ सोही अनुसार नमरुन्जेल व्यक्तिले पेन्सन पाउनेछ । पेन्सन नै पाउन १५ वर्षसम्म रकम राख्नैपर्छ । तर नागरिकको उमेर हद ६० वर्ष तोकिएको छ । यदि कसैको ६० वर्ष उमेर पुगिसक्यो तर रकम जम्मा गरेको अवधि १४ वर्ष मात्र भयो भने उसले पेन्सन पाउनेछैन । त्यसको साँवा ब्याज जति हुन्छ सोही रकम एकमुष्ट पाउँछ ।
यदि कसैले पाँच सय रुपैयाँ राखेको छ भने उसको १५ वर्षमा साँवा ९० हजार रुपैयाँ हुन्छ । त्यसमा बजारको रेट अनुसार ब्याज दिइनेछ । जति रकम जम्मा भयो त्यसको सावाँ ब्याजलाई १७० ले भाग गर्दा जति आउँछ सोही रकम मासिक पेन्सन हुन आउँछ ।
बचतकर्ताको मृत्यु भएमा के हुन्छ ?
कोषको अवधारणाअनुसार कम्तीमा १५ वर्ष रकम जम्मा गरेपछि वा एकमुष्ट रकम राखेपछि मात्रै पेन्सन पाइने हो । तर, कसैले १५ वर्षसम्म रकम जम्मा गरेको छ, उसको उमेर ६० वर्ष पनि पुगेको छ, पेन्सन खाने योजना छनोट गरेको छ । तर, एक वा दुई वर्ष मात्रै पेन्सन खाएपछि वा पेन्सन नखाँदै बचतकर्ताको मृत्यु भएमा के हुन्छ भन्ने प्रश्न पनि उठ्छ ।
पेन्सन पाउन योग्य सहभागीले पेन्सन प्राप्त गर्न सुरु गरेपछी निजको मृत्यु भएमा मृतकको पति पत्नीलाई उसले पाइरहेको रकम बराबर नै पारिवारिक पेन्सन प्रदान गर्ने व्यवस्था छ ।
बचतकर्ताको निवृत्तिभरण सुरु भए पछि निज र निजको श्रीमान् वा श्रीमती दुवैको मृत्यु भएमा कोषका सम्वन्धित व्यक्तिको नाममा बाँकी रहेको बचत रकम निजहरुको कानुनी हकदारलाई प्रदान गर्ने तथा कुनै बचतकर्ताको निवृत्तिभरण प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा निजको नजिकको हकवालालाई निजले जम्मा गरेको रकम त्यसको ब्याज र प्रतिफल समेत एकमुस्ट रुपमा प्रदान गरिने व्यवस्था रहेको छ ।
अन्य सुविधाहरु कस्ता छन् ?
नागरिक पेन्सन योजना अन्तर्गत कोषमा जम्मा भएको रकममा कोषले निर्धारण गरे अनुसार दैनिक मौज्दातको आधारमा ब्याज प्रदान गर्छ ।




























