काठमाडौँ । कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण गर्न डिपिआर तयार भएको छ ।
सुख्खा बन्दरगाह निमार्णका लागि रु पाँच अर्ब ७५ करोड लागत अनुमान गरिएको छ । सुख्खा बन्दरगाह भारतको पूर्ण लगानीमा बन्ने नेपाल इन्टर मोडल यातायात विकास समितिको, भनाई छ ।
“सुख्खा बन्दरगाह निर्माण गर्न भारतले डिपिआर तयार गरेर पठाएको छ ।
बन्दरगाह निमार्णका लागि दोधारा चाँदनी नगरपालिकास्थित मायापुरी र गौरीशङ्कर सामुदायिक वनको करिब दुई सय ८० बिघा भन्दा बढी जमिन प्रयोग हुने नग। प्रमुख किशोर लिम्बुले आर्थिक भ्वाईसलाई जानकारी दिएका छन् ।
सुख्खा बन्दरगाहमा दुई वटा गोदाम, भन्सार जाँच, क्वारेनटाइन, इमिग्रेसन र सुरक्षा भवनलगायत अन्य पूर्वाधार निर्माण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । भारतले एसियन राजमार्गसँग जोड्न पहुँच मार्ग निर्माणको काम सुरु गरिसकेको छ ।
सुख्खा बन्दरगाह निर्माण हुने स्थलमा रुख कटानका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृति भइसकेको छ । मन्त्रिपरिषद्ले रुख कटान गर्ने निर्णय गरेपछि निमार्णकार्य अघि बढ्नेछ । बन्दरगाह क्षेत्रमा एक हजार नौ सय ८९ रुख कटान गर्नुपर्ने नगरप्रमुखको जानकारी छ ।
विसं २०६४ मा पहिलो पटक सरकारले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण गर्ने प्रस्ताव गरेको थियो । त्यसपछि पटक–पटक अध्ययनका लागि टोली आए पनि काम अगाडि बढ्न सकेको थिएन ।
औद्योगिक र कृषि क्षेत्रको विकास गर्न सके यसले भारतको उत्तर प्रदेश र उत्तराखण्डमा बजार पाउँछ । दोधारा र चाँदनीमा सुख्खा बन्दरगाह स्थापनापछि छिमेकी मुलुक भारतमा रहेका उद्योगका शाखा नेपालमा खुल्न सक्ने र यहाँबाट उत्पादन गर्न सक्ने सम्भावना रहेको छ त्यहाँका राजनीतिक दलको भनाई छ ।






































