काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले लामो समयदेखि अलपत्र र रुग्ण अवस्थामा रहेका ठेक्काहरूको समीक्षा गर्दै ६ वटा ठेक्का तोड्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
पूर्वाधार विकास मन्त्री ई. सुनिल लम्सालले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको जानकारीअनुसार स्थानीय पूर्वाधार विकास विभागअन्तर्गत सञ्चालित १९ वटा रुग्ण ठेक्काको समीक्षा गर्दा प्रगतिको सम्भावना नरहेका ६ वटाको ठेक्का तोड्ने प्रक्रिया अघि बढाउने निर्णय गरिएको हो।
मन्त्री लम्सालका अनुसार मन्त्रालयको निरन्तर निगरानी र सहजीकरणपछि ६ वटा आयोजना सम्पन्न भएका छन् भने थप ५ वटा आयोजनाको निर्माण कार्य अघि बढेको छ।
बुधबार विभागबाट सञ्चालित आयोजना तथा कार्यक्रमहरूको समीक्षा गरिएको जानकारी दिँदै उनले स्थानीय पूर्वाधार निर्माणसम्बन्धी कार्ययोजना संशोधन गरी आयोजना तथा कार्यक्रम कार्यान्वयनलाई थप गति दिन आवश्यक निर्देशनसमेत दिइएको बताएका छन्।
अलपत्र तथा रुग्ण ठेक्काको अवस्था पहिचान गरी काम अघि बढाउने र प्रगति सम्भव नभएका ठेक्का तोड्ने मन्त्रालयको निर्णयले स्थानीय पूर्वाधार आयोजनाको कार्यान्वयनमा कस्तो प्रभाव पार्छ भन्ने आगामी प्रक्रियाले स्पष्ट पार्नेछ।


































