काठमाडौँ। एक सय ३२ केभी क्षमताको बुर्तिबाङ सवस्टेसन औपचारिक रूपमा सञ्चालनमा आएको छ। फागुन २ गते निर्माण कार्य सम्पन्न भएपछि फागुन ३ र ४ गते परीक्षण प्रक्रिया पूरा गरिएको थियो। त्यसपछि मङ्गलबारदेखि सवस्टेसन नियमित सञ्चालनमा ल्याइएको हो।
सुरुमा एक वर्षअघि नै सञ्चालन गर्ने लक्ष्य राखिएको भए पनि बागलुङको बडिगाड गाउँपालिकामा टावर निर्माण र लाइन विस्तारका विषयमा स्थानीयको अवरोधका कारण काम ढिलाइ भएको थियो।
आयोजना प्रमुख मनोज चौधरीका अनुसार विभिन्न स्थानमा अवरोध आउँदा तोकिएको समयमै काम सम्पन्न गर्न सम्भव भएन। बडिगाड क्षेत्रका बासिन्दाले टावर निर्माण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेपछि करिब डेढ वर्षसम्म काम प्रभावित बनेको थियो। गत वर्ष असार ९ गते सर्वोच्चले रिट खारेज गरेपछि निर्माण कार्य तीव्र पारेर आयोजना पूरा गरिएको उनले बताए।
पहाडी जिल्लालाई केन्द्रीय प्रसारण प्रणालीसँग जोड्ने उद्देश्यले कपिलवस्तुको मोतिपुरबाट अर्घाखाँचीको सन्धिखर्क, गुल्मीको तम्घास र पौँदीअमराई हुँदै बुर्तिबाङसम्म १३२ केभी प्रसारणलाइन विस्तार गरिएको हो। ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा सवस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको जानकारी आयोजना प्रमुख चौधरीले दिएका छन्।
कपिलवस्तुदेखि बुर्तिबाङसम्म करिब ८६ किलोमिटर दूरीमा ‘डबल सर्किट’ प्रणालीमार्फत तार विस्तार गरिएको छ। करिब चार अर्ब ७९ करोड रुपैयाँ लागतमा आयोजना सम्पन्न भएको जनाइएको छ।






































