National life

सहकारीबाट सस्तो ब्याजदरमा ऋण, व्यवसाय विस्तारमा टेवा पुग्ने अपेक्षा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|१० साउन २०८३, आइतबार
4.2kShares
सहकारीबाट सस्तो ब्याजदरमा ऋण, व्यवसाय विस्तारमा टेवा पुग्ने अपेक्षा
ncell

काठमाडौं - बचन बचत तथा ऋण सहकारी संस्था लिमिटेड बचन साकोसले आफ्ना सदस्यहरूलाई सहुलियतपूर्ण वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले वार्षिक ७ प्रतिशत ब्याजदरमा दुई नयाँ ऋण योजना सञ्चालनमा ल्याउने भएको छ।

संस्थाका अध्यक्ष मुकुन्दराज खनालका अनुसार सञ्चालक समितिले प्रस्तावित दुवै ऋण योजनालाई स्वीकृति प्रदान गरेको छ। यी योजनाहरू सञ्चालनका लागि आवश्यक वित्तीय स्रोत संस्थाको शेयर पुँजी तथा जगेडा कोषको निश्चित अंश परिचालन गरी व्यवस्था गरिएको जनाइएको छ।

नयाँ योजनाअन्तर्गत सहकारी व्यवसाय सहज ऋण र सहकारी व्यक्तिगत ऋण सञ्चालन गरिनेछ। दुवै योजनामा वार्षिक ७ प्रतिशत ब्याजदर, अधिकतम पाँच वर्षसम्मको भुक्तानी अवधि, १ प्रतिशत सेवा शुल्क तथा न्यूनतम १० हजारदेखि अधिकतम १० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइने व्यवस्था गरिएको छ।

Royal Enfield
nic asia capital

संस्थाका अनुसार सहकारी व्यवसाय सहज ऋण सदस्यहरूलाई नयाँ व्यवसाय सञ्चालन गर्न, सञ्चालनमा रहेका व्यवसाय विस्तार गर्न, कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न, स्वरोजगार सिर्जना गर्न तथा पारिवारिक आम्दानी वृद्धि गर्न प्रोत्साहित गर्ने उद्देश्यले ल्याइएको हो। यस योजनाले सदस्यहरूको आर्थिक आत्मनिर्भरता अभिवृद्धि गर्नुका साथै स्थानीय आर्थिक विकासमा समेत सकारात्मक योगदान पुग्ने संस्थाको विश्वास रहेको छ। त्यसैगरी, सहकारी व्यक्तिगत ऋण सदस्यहरूको आकस्मिक तथा अल्पकालीन व्यक्तिगत आर्थिक आवश्यकताहरू सहज रूपमा पूरा गर्न लक्षित गरिएको छ। कम ब्याजदरमा छिटो ऋण उपलब्ध गराई सदस्यहरूको आर्थिक सुरक्षा तथा जीवनस्तर सुधारमा सहयोग पुर्‍याउने उद्देश्य रहेको संस्थाले जनाएको छ।

सहकारी ऐन, २०७४ (संशोधनसहित) को दफा २ मा गरिएको “परिवार” तथा “नातेदार” सम्बन्धी परिभाषा र संस्थागत सुशासन, पारदर्शिता तथा हितको द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यअनुसार “सहकारी व्यवसाय सहज ऋण” सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार समिति तथा अन्य उपसमितिका पदाधिकारी, संस्थाका कर्मचारी र ऐनले परिभाषित गरेका उनीहरूका परिवारका सदस्य तथा नातेदारलाई उपलब्ध गराइने छैन।

संशोधित व्यवस्थाअनुसार पति वा पत्नी, छोरा–छोरी, बुहारी, ज्वाइँ, धर्मपुत्र–धर्मपुत्री, बाबु–आमा, सौतेनी आमा, बाजे–बज्यै, सासू–ससुरा तथा पालनपोषण गर्नुपर्ने दाजु–भाउजू, भाइ–बुहारी, दिदी र बहिनी परिवारको परिभाषाभित्र पर्दछन्। त्यसैगरी, काका–काकी, मामा–माइजू, फुपू–फुपाजु, भतिजा–भतिजी, नाति–नातिनी, साला–साली, जेठान–जेठानी, एकाघरका सदस्य तथा सम्बन्धित सहकारी संस्थाका कर्मचारीलाई नातेदारको परिभाषाभित्र समावेश गरिएको छ। तर अंशबण्डा गरी मानो छुट्टिएर आ–आफ्नो पेशा वा व्यवसाय सञ्चालन गर्दै स्वतन्त्र रूपमा बसोबास गरेका परिवारका सदस्यहरू प्रचलित कानुनी व्यवस्थाबमोजिम उक्त परिभाषाभित्र समावेश हुने छैनन्।

सहुलियतपूर्ण ऋण प्राप्त गर्न सदस्यले कम्तीमा तीन महिनाको सदस्यता अवधि पूरा गरेको, पूर्ण सदस्य बनेको, स्वीकृत ऋण रकमको ५ प्रतिशत बराबर शेयर खरिद गरेको, नियमित मासिक बचत गरेको, स्वीकार्य धितो उपलब्ध गराएको, ऋण बीमा गरेको तथा किस्ता भुक्तानी गर्न सक्ने आयस्रोत रहेको हुनुपर्ने व्यवस्था गरिएको छ। तत्काल आम्दानीको स्रोत नभएका सदस्यलाई संस्थाको ऋण नीतिअनुसार बढीमा छ महिनासम्म ब्याज मात्र भुक्तानी गर्न सकिने सुविधा पनि उपलब्ध गराइनेछ। साथै, संस्थामा अन्य कुनै शीर्षकमा सक्रिय ऋण रहेका सदस्यले यस सहुलियतपूर्ण ऋण सुविधा प्राप्त गर्न नपाउने व्यवस्था गरिएको छ।

बचन साकोसले यी नयाँ ऋण योजनाहरू जिम्मेवार, पारदर्शी र सदस्यमुखी वित्तीय सेवाप्रतिको आफ्नो प्रतिबद्धताको निरन्तरता भएको जनाएको छ। संस्थाका अनुसार यसबाट उत्पादनमूलक लगानी, उद्यमशीलता विकास, वित्तीय समावेशीकरण तथा सहकारी क्षेत्रको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। संस्थाले इच्छुक सदस्यहरूलाई ऋणसम्बन्धी योग्यता, आवश्यक कागजात, आवेदन प्रक्रिया तथा अन्य सर्तहरूको विस्तृत जानकारीका लागि कार्यालय समयमा संस्थाको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।

यसैबीच, सञ्चालक समितिले सहकारी क्षेत्रमा देखिएका बेथिति, विवाद समाधान तथा कर्जा पुनःप्राप्तिसम्बन्धी कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न यस संस्थाको सहकारी बेथिति, विवाद समाधान तथा पुनःप्राप्ति उप-समिति गठन गर्ने निर्णय गरिएको छ। साथै, समितिले सहकारी क्षेत्रका विज्ञ तथा नेपाल सरकारका पूर्व श्री शिव प्रसाद घिमिरे लाई उक्त उप-समितिको संयोजकमा मनोनयन गर्ने निर्णय गरेको छ।

आर्थिक वर्ष २०८२र०८३ को असार मसान्तसम्म बचन साकोसको कुल सम्पत्ति ३४ करोड १० लाख रुपैयाँभन्दा बढी पुगेको छ। संस्थामा १,५२५ सदस्य आबद्ध छन् भने सदस्यहरूको कुल बचत करिब २३ करोड ९३ लाख रुपैयाँ र ऋण लगानी २६ करोड ७ लाख रुपैयाँ रहेको छ। संस्थाले पारदर्शी, सुरक्षित र सदस्यकेन्द्रित वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ।

बचन साकोसले सदस्यहरूले निरन्तर प्रदान गर्दै आएको विश्वास, सहयोग र साथप्रति हार्दिक आभार व्यक्त गर्दै सहकारी अभियानलाई अझ सुदृढ बनाउने तथा समुदायको सामाजिक–आर्थिक समृद्धिमा थप योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ। उक्त निर्णय २०८३ साल श्रावण १० गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो। प्रमुख कार्यकारी अधिकृत डा। देश मर्दन बस्न्यातका अनुसार यो योजना आजैदेखि लागू हुनेछ।

यो समाचार शेयर गर्नुहोस्
4.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?