काठमाडौं । दशैं नजिकिएसँगै आन्तरिक हवाई उडानमा यात्रुको चाप बढेको छ । अधिकांश गन्तव्यका लागि दशैंअघि नै हवाई टिकट बिक्री भइसकेको वायुसेवा कम्पनीहरूले जनाएका छन् ।
रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीबाट भएको क्षति तथा राजधानी प्रवेश गर्ने प्रमुख राजमार्गसमेत लामो समय अवरुद्ध भएको अवस्थालाई मध्यनजर गर्दै यात्रुलाई सहज बनाउन सस्तो दरमै टिकट बिक्री गरिएको वायुसेवा कम्पनीहरूको दाबी छ ।
भदौ १० गते आएको हिमबाढीले रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानीय तहमा क्षति पुर्याएको थियो ।
विपद्का कारण सडक यातायात प्रभावित भएपछि यात्रुलाई सहज बनाउन तथा अधिक नाफा नलिने नीतिअनुसार सस्तो दरमै टिकट उपलब्ध गराइएको वायुसेवा कम्पनीहरूले बताएका छन् ।
बुद्ध एयरका वरिष्ठ बजार प्रबन्धक रुपेश जोशीका अनुसार यस वर्ष दशैंका लागि हवाई भाडा बढाइएको छैन । काठमाडौं बाहिरिने र काठमाडौं भित्रिने विभिन्न गन्तव्यका यात्रुलाई सस्तो दरका टिकट उपलब्ध गराइएको उनले बताए ।
उनका अनुसार काठमाडौं–धनगढी उडानको न्यूनतम भाडा १० हजार ८०० रुपैयाँदेखि अधिकतम २२ हजार १८० रुपैयाँसम्म भए पनि कम्पनीले न्यूनतम दरतर्फका टिकटलाई प्राथमिकता दिएको छ ।
धनगढी, भरतपुर, विराटनगरलगायत गन्तव्यमा सस्तो दरका टिकट बिक्री भएकाले दशैंअघि चारदेखि पाँच दिनसम्मका अधिकांश टिकट बिक्री भइसकेको जोशीले बताए । थप उडान नथपिए ती गन्तव्यमा तत्काल टिकट पाउन कठिन हुने उनको भनाइ छ ।
श्री एयरलाइन्सले पनि यात्रुलाई सस्तो दरमै टिकट बिक्री गरिरहेको जनाएको छ । कम्पनीका अनुसार सस्तो दरका टिकट सकिएपछि थप उडान भएको अवस्थामा सामान्य भाडादरसम्म पुग्न सक्नेछ ।
यद्यपि, वायुसेवा कम्पनीहरूले सार्वजनिक गरेको भाडादर न्यूनतमदेखि अधिकतमसम्मकै देखिन्छ । गत वर्षको तुलनामा यस वर्ष हवाई इन्धनको शुल्क बढेकाले सस्तो दरको टिकट बिक्री गर्दा पनि यात्रुले तिर्नुपर्ने कुल रकम बढी देखिएको वायुसेवा कम्पनीहरूको भनाइ छ ।
आन्तरिक हवाई भाडामा नेपाल आयल निगमले निर्धारण गर्ने इन्धनको मूल्यअनुसार इन्धन शुल्कसमेत जोडिने गर्छ । हाल टिकटमै यात्रुले तिर्नुपर्ने हवाई भाडा, इन्धन शुल्क र सरकारलाई बुझाउनुपर्ने करको विवरण छुट्टाछुट्टै देखिने व्यवस्था गरिएको छ ।
मोबाइल वालेटलगायत माध्यमबाट टिकट काट्दा यात्रुले आफूले तिरेको रकमको विस्तृत विवरणसमेत हेर्न सक्ने व्यवस्था रहेको छ ।
यस्तो छ भाडादर:







































