काठमाडौं। प्रख्यात अर्थशास्त्री केशव आचार्यको निधन भएको छ। नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक समेत रहिसकेका आचार्यको सोमबार बिहान निधन भएको हो।
गत साता मस्तिष्कघातका कारण अस्पताल भर्ना भएका ७२ वर्षीय आचार्यलाई सुरुमा चाबहिलको मेडिकेयर अस्पतालमा राखिएको थियो र पछि थप उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पताल लगिएको थियो। उपचारको क्रममा सोमबार बिहान उहाँको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
आचार्यले आफ्नो करियरमा नेपाल राष्ट्र बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) तथा अर्थ मन्त्रालयमा वरिष्ठ आर्थिक सल्लाहकारको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो।
उहाँको परिवारमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन्। पारिवारिक स्रोतका अनुसार, मंगलबार उहाँको दाहसंस्कार गरिनेछ।




































