काठमाडौँ । आज साउन १ गतेदेखि आर्थिक वर्ष २०८२र८३ सुरु भएको छ। यससँगै अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते संसदमा सार्वजनिक गरेको नयाँ बजेट पनि लागू भएको छ।
नयाँ बजेटको आकार १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको बजेटभन्दा १ खर्ब ३ अर्ब ८१ करोड रुपैयाँले बढी हो। अघिल्लो वर्ष सरकारको बजेट १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ थियो।
चालु आर्थिक वर्षको बजेटमा सरकारको खर्च चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ। यो अघिल्लो बजेटको तुलनामा ५.६ प्रतिशत र संशोधित अनुमानको तुलनामा १८.२ प्रतिशत बढी हो।
सरकारले राजस्वबाट १३ खर्ब १५ अर्ब रुपैयाँ र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड रुपैयाँ संकलन गर्ने योजना बनाएको छ।
साथै आजदेखि राष्ट्र बैंकको नयाँ मौद्रिक नीति पनि लागू भएको छ । यसलाई गभर्नर विश्वनाथ पौडेलले असार २७ गते सार्वजनिक गरेका थिए । सामान्यतया मौद्रिक नीति आर्थिक वर्ष सुरु भएपछि ल्याइने भए पनि यसपटक असारमै सार्वजनिक गरिएको हो। यो गभर्नर पौडेलको पहिलो मौद्रिक नीति हो।
मौद्रिक नीति लागू भएपछि अबदेखि शेयरलाई धितो राखेर २५ लाख रुपैयाँसम्म कर्जा लिन सकिने भएको छ। राष्ट्र बैंकले यसबारे बुधबार परिपत्र जारी गरिसकेको छ। यस्तो कर्जा केवल ‘मार्जिन प्रकृतिको’ कर्जाका लागि हो। बाँकी सेयर धितो कर्जामा भने यस्तो सीमा छैन। राष्ट्र बैंकको परिपत्रअनुसार शेयर धितोमा दिइने मार्जिन कर्जाको अधिकतम सीमा प्रति ग्राहक २५ करोड रुपैयाँसम्म हुनेछ।
त्यसैगरी, अब घर किन्न चाहने व्यक्तिहरूले मूल्यांकन रकमको ८० प्रतिशतसम्म कर्जा लिन सक्नेछन् जुन अघिल्लो ७० प्रतिशतबाट बढाइएको हो। यस्तो आवासीय कर्जा ३ करोड रुपैयाँसम्म पाइनेछ, जुन अघिल्लो २ करोड रुपैयाँको सीमाभन्दा बढी हो।
मौद्रिक नीतिमा भएका अन्य व्यवस्थाहरू पनि आजदेखि लागू भएका छन्। अब बैंकहरूले त्रैमासिक वित्तीय विवरण त्रैमास सकिएको १५ दिनभित्र सार्वजनिक गर्न सक्नेछन् । यसअघि ७ दिनभित्र विवरण प्रकाशित गर्नुपर्ने थियो। चौथो त्रैमासको विवरण साउन ३० गतेसम्म सार्वजनिक गर्न मिल्नेछ । जुन अघिल्लो २१ दिनको म्यादभन्दा बढी हो।

































