काठमाडौं। सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
अर्धठोस बनाएर ल्याइएको सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुरलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरेको हो ।
एसएसपी कृष्णहरि शर्माले दिएको जानकारी अनुसार, सोमबार राति दुबईबाट आएका गफुरलाई शंका लागेर जाँच गर्दा सुन फेला परेको थियो ।
उनी फ्लाई दुबईको उडानमार्फत काठमाडौं आएका थिए । गफुरलाई थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय बुझाइएको शर्माले जानकारी दिएका छन् ।



































