काठमाडौं । मुलुकको अर्थतन्त्र एक वर्षको अवधिमा करिब ४ खर्ब रुपैयाँले बढेको छ। अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) ५७ खर्ब रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षमा ६१ खर्ब पुगेको छ।
मन्त्रालयका अनुसार सोही अवधिमा राजस्व संकलनमा १ खर्ब ८ अर्ब रुपैयाँले वृद्धि भएको छ भने पुँजीगत खर्च पनि ३६ अर्बले बढेको छ।
बैंक तथा वित्तीय क्षेत्रबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.७ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यो वृद्धिदर ५.६ प्रतिशत मात्र थियो। रेमिट्यान्समा १५.५ प्रतिशत र निर्यातमा ७७.८ प्रतिशतको वृद्धि भएको छ। आयात पनि १३.१ प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ।
अर्थ मन्त्रालयले राष्ट्रिय तथ्यांक कार्यालयको सर्वेक्षणलाई आधार मान्दै अर्थतन्त्रका १८ वटा क्षेत्रका सूचक सकारात्मक रहेको जनाएको छ। तीमध्ये यातायात, निर्माण, खानी, विद्युत तथा ग्यास, व्यापार, बैंक तथा बीमा, उद्योग, सूचना प्रविधि, कृषि, वन, स्वास्थ्य, शिक्षा, आवास तथा भोजनलगायतका क्षेत्र प्रमुख छन्।
नीतिगत र कानुनी सुधारमा पनि उल्लेख्य प्रगति भएको मन्त्रालयको दाबी छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) ऐन, निजीकरण (पहिलो संशोधन) ऐन, भन्सार महसुल ऐन, बैंकिङ कसुर तथा सजाय ऐनलगायत कानुनहरू संशोधन तथा प्रक्रियामा रहेका छन्। साथै, वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधि सभामा पेश गरिएको छ।
मन्त्रालयले पछिल्लो एक वर्षमा उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगको गठन, निजी क्षेत्रको गुनासो तथा माग सम्बोधन, अघिल्लो वर्षको ३० अर्बभन्दा बढी दायित्व भुक्तानी, निर्माण क्षेत्रको समस्या समाधानलगायत उपलब्धि हासिल भएको जनाएको छ।
यद्यपि मन्त्रालयले लक्ष्यअनुसार राजस्व संकलन, पुँजीगत खर्चमा थप वृद्धि र ग्रे लिष्टबाट बाहिरिने जस्ता चुनौतीहरू अझै कायम रहेको उल्लेख गरेको छ।





































