National life

कलाकार भन्छन् : सामाजिक सञ्जालमाथिको प्रतिबन्धले रोजीरोटी नै खोस्छ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ भदौ २०८२, बिहिबार
1.1kShares
कलाकार भन्छन् : सामाजिक सञ्जालमाथिको प्रतिबन्धले रोजीरोटी नै खोस्छ
ncell

काठमाडौँ । सूचीकरणमा नआएको भन्दै सरकारले फेसबुक, एक्स लगायतका सामाजिक सञ्जालका प्लेटफर्महरू बन्द गर्ने निर्णय गरेको छ । सरकारले गत हप्ता मात्र सात दिनको अल्टिमेटम दिँदै सामाजिक सञ्जालहरूलाई दर्ताका लागि आह्वान गरेको थियो । तर दिइएको समयमा पनि सामाजिक सञ्जाल कम्पनीहरू दर्ता हुन नआएपछि सञ्चार मन्त्रालयले सूचीकरणमा नभएका सञ्जाल बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो ।

सोसँगै अब फेसबुक, एक्स, युट्युब लगायत २६ वटा सामाजिक सञ्जाल नेपालमा चल्ने छैनन् ।

Royal Enfield
nic asia capital
सरकारको यो कदमले साइबर सुरक्षा, मानवीय सम्बन्ध र अभिव्यक्ति स्वतन्त्रतालाई त हनन गर्ने छ नै, साथमा विभिन्न व्यवसाय सञ्चालन गरिरहेकालाई समेत प्रभाव पर्ने देखिन्छ ।

पछिल्ला केही दशकहरूमा अनलाइन प्लेटफर्म सर्जकहरूको लागि प्रमुख आम्दानीको स्रोत बन्दै आएको थियो । त्यति मात्र होइन, क्यासेट तथा सिडी प्लेयर जस्ता प्रविधि हराउँदै जाँदा संगीतकर्मीहरूका लागि युट्युब जस्ता प्लेटफर्महरू आफ्ना कृति सार्वजनिक गर्ने थलो बनेका थिए । अब युट्युबमाथि नै बन्देज लागेपछि श्रोता तथा दर्शक त उनीहरूको कृति सुन्न र हेर्नबाट वञ्चित त हुने छन् नै, सँगै सर्जकहरूले आफ्नो सृजना अभिलेखीकरण र भण्डारण गर्न नसक्ने स्थिति पनि बन्ने देखिएको छ । यसरी युट्युब जस्ता सामाजिक सञ्जाल बन्द हुँदा सर्जकहरूको रोजीरोटी नै खोसिने सम्भावना पनि उत्तिकै बढेर गएको छ ।

गायक हेमन्त शर्मा सोसल नेटवर्किङ साइटहरूलाई सूचीकरणका लागि बोलाउनु सरकारको राम्रो पक्ष भएपनि ती प्लेटफर्ममाथि बन्देज नै लगाउन तम्सिनु चाहिँ ठीक नभएको बताउँछन् । “सोसल मिडियाहरू कुनै पनि देशमा सञ्चालन भएपछि त्यहाँको नियम कानुन मान्नुपर्छ । त्यो तरिकाबाट सरकारले गरेको पहललाई सकारात्मक नै लिनुपर्छ,” आर्थिक भ्वाइससँगको कुराकानीमा उलने भने, “तर नियमन गर्छु भन्दै सबै सामाजिक सञ्जाललाई सरकारले एउटै आँखाले हेर्नु हुँदैन ।”

यसअघि देशभित्र विगतमा भएका विभिन्न प्राकृतिक प्रकोपमा सामाजिक सञ्जालकै सहायताले मानवीय अभियानहरू सञ्चालन भएको स्मरण समेत गराए । “भूकम्प, बाढीपहिरोलाई नै हेर्नुहोस् । राज्य पुग्न नसकेको ठाउँमा सामाजिक सञ्जालका सहायताले सहयोग जुटेको अवस्थाहरू पनि थिए । सामाजिक सञ्जालले नकारात्मकता मात्र फैलाए भन्नु एकतर्फी कुरा हुन्छ,” उनले सुनाए ।

यस्तै हाँस्यकलाकार हरिवंश आचार्य सरकारको यो निर्णयले कलाकार र सिर्जनाकर्मीहरूलाई मात्र नभई साना तथा मझौला व्यवसायलाई समेत गम्भीर असर पर्ने बताउँछन् । “दशैँ मुखैमा आइसकेको छ । कतिपयको व्यापार व्यवसाय नै युट्युब र सोसल मिडियाले धानेको छ,” आर्थिक भ्वाइससँगको कुराकानीमा आचार्यले भने, “नयाँ रिलिज हुने चलचित्रको प्रचारप्रसार पनि सामाजिक सञ्जालबाटै हुने गरेको छ । सरकारको यो कदमले सबैलाई असर पर्छ ।”

युट्युब जस्ता प्लेटफर्महरू कलाकारका लागि रोजीरोटीको मुख्य आधार भएको बताउँदै गायक शर्माले राज्यको निर्णयप्रति खिन्नता व्यक्त गरे । “राज्यले कलाकारलाई दिनुपर्ने कुराहरू दिन सकेको छैन । तर हामीले युट्युब जस्ता प्लेटफर्मबाट भएको आम्दानीको ५ प्रतिशत कर सरकारलाई बुझाइरहेका छौं,” शर्माले अगाडि थप्दै भने, “मेरो गोरुको बाह्रै टक्का भने जसरी बन्द गर्नु हुँदैन ।”

यस्तै लोक दोहोरी गायक शिरीष देवकोटाले लोक गीतको प्रवद्र्धनमा सोसल मिडियाले ठूलो भूमिका खेलेको बताउँदै सरकारको निर्णयले समग्र सांगीतिक क्षेत्रलाई नै असर गर्ने विचार राखे । “सोसल मिडियामा हुने स्टोरी, रिल्स जस्ता फिचर संगीतकर्मीका लागि आम्दानी गर्ने स्रोत बनेको थियो । युट्युब नै नभएपछि हामीले गीत कसरी रिलिज गर्ने भन्ने अन्यौलता छाएको छ । यसरी सबैभन्दा ठूलो असर सांगीतिक क्षेत्रलाई नै पर्ने देख्छु”, देवकोटाले बताए ।

गायक शर्माले सरकारको यो कदमलाई अदूरदर्शी र हचुवाको भरमा लिइएको निर्णयको संज्ञा दिँदै यसले सिर्जना, संस्कृति र समग्रमा देशलाई नै अप्ठ्यारो पार्ने भनाइ राखे । शर्माले अगाडि भने, “मान्छे पलङबाट लड्यो भने पलङ नै फेर्ने होइन । बरु सुत्ने तरिका फेर्ने हो । सरकारले कि त कुटनीतिक पहल गरेर यी कम्पनीहरूलाई दर्ता प्रक्रियामा ल्याउन सहजीकरण गर्नुपथ्र्याे । होइन भने केही लचकता अपनाउनु पथ्र्याे ।” सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएर आफ्नो शक्ति प्रदर्शन गर्न खोज्नु ठीक नभएको उनले बताए ।

सामाजिक सञ्जालभरि सरकारको कदमलाई लिएर हल्लाखल्ला मच्चिरहँदा हाँस्यकलाकार आचार्य भने यो प्रतिबन्ध अस्थायी भएको विचार राख्छन् । “यसमा अभिव्यक्ति स्वतन्त्रताका कुरा आउँछन् । राज्यले सोसल मिडियालाई सधैं बन्द गरेर राख्न सक्दै सक्दैन । सरकारले प्रतिबन्धलाई लिएर पुनर्विचार गर्नुपर्छ,” आचार्यले बताए । सामाजिक सञ्जालहरू पनि नेपालमा सूचीकृत हनु आउनुपर्ने र सरकारले त्यसका लागि कूटनीतिक पहल गर्नुपर्ने विचार उनले राखे ।

गायक देवकोटाले पनि हाँस्यकलाकार आचार्यसँग सहमति जनाउँदै सामाजिक सञ्जालहरू सूचीकृत हुन आउनुपर्नेमा जोड दिए । “सामाजिक सञ्जालहरूलाई नेपालमा सूचीकरण हुन असहजता छ भने सरकारले पनि सहजीकरण गर्नुपर्छ । प्रतिबन्द लगाउनु नै अन्तिम विकल्प हुनुहुँदैनथ्यो । आशा छ यो प्रतिबन्द धेरै समयका लागि रहने छैन,” देवकोटाले भने ।

यद्यपि सामाजिक सञ्जालमाथिको प्रतिबन्ध लम्बिएका खण्डमा भने देशबाट प्रतिभा पलायन हुने खतरा गायक शर्माले औँल्याए । “एक महिना मात्रै यी प्लेटफर्म बन्द हुने हो भने दशैंको मुखमा धेरै कलाकारको घरमा चुल्हो बल्ने छैन,” उनले थपे, “यसले कलाकारहरूलाई देश नै छाड्न बाध्य बनाउन सक्छ । यसप्रति राज्य गम्भीर अनि जवाफदेही हुनुपर्छ ।”

नेपालमा हालसम्म टिकटक, भाइबर, निम्बज र वीटक र ओपोलाइट गरी चार ओटा प्लेटफर्मले मात्र दर्ता प्रक्रिया पूरा गरेका छन् । मेटा (फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपको मातृ कम्पनी) र एक्स जस्ता ठूला कम्पनीहरूले नेपालको अस्पष्ट कानुनी संरचना र सामग्री हटाउन वा फिल्टर गर्नुपर्ने प्रावधानप्रति आपत्ति जनाउँदै आएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?