काठमाडौँ । जिल्ला कारागार खोटाङमा आफ्नो जेल भुक्तान गरिरहेका अधिकांश कैदी बन्दीले कुनै न कुनै व्यावसायिक काममा आफूलाई आबद्ध बनाएका छन्।
धेरै जसो कैदीले धागो प्रयोग गरेर ढाका टोपी, रुमाल, सल र पर्स बुनिरहेका छन् भने केहीले बाँसका चोया तथा भाटा प्रयोग गरेर घरायसी सामग्री निर्माण गरिरहेका छन्। विभिन्न मुद्दामा जेल भुक्तान गरिरहेका कैदी बन्दीलाई सृजनशील तथा व्यावसायिक बनाउन विभिन्न दातृ निकायले निःशुल्क औजारसमेत उपलब्ध गराएको जिल्ला कारागार खोटाङले जनाएको छ।
कैदी बन्दीले उत्पादन गरेका सामग्रीमध्ये बाँसका सामग्रीले राम्रो बजार मूल्य पाए पनि ढाका टोपी, सल र पर्स भने सोच अनुरूप बिक्री हुन नसकेको गुनासो आएको जेलरहरूले सुनाएका छन् । दातृ निकायले उपलब्ध गराएको घरेलु तथा आधुनिक औजार प्रयोग गरेर उनीहरूले धागोबाट निर्माण गरिने ढाका टोपी, रुमाल, सल र पर्स, बाँसका चोयाबाट निर्माण गरिने नाङ्लो, डालो, फिपी लगायतका घरायसी सामग्री उत्पादन गरिरहेका छन्।
हाल जिल्ला कारागारमा एक सय ५६ जना कैदी बन्दी छन् । उनीहरू सबै जना केही न केही व्यावसायिक काममा आबद्ध छन् । धागोका काम गर्ने ४५ देखि ५० कैदी बन्दी छन् । उनीहरूले उत्पादन गरेका ढाका टोपीले बजार पाउन नसकेको कैदी बन्दीहरूको भनाई छ ।
आफूहरूले उत्पादन गरेका ढाका टोपी प्रतिगोटा फरक–फरक गुणस्तरको फरक–फरक मूल्य तीन सय, छ सय र आठ सय रुपैयाँमा बिक्री गर्ने गरिएको कैदी बन्दीले बताएका छन् ।
जबकि, कारागारका कैदी बन्दीले उत्पादन गरेका सोही ढाका टोपी दिक्तेल बजारमा सञ्चालित टेलर्स सञ्चालकले एक हजार पाँच सय रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन् । यद्यपि त्योभन्दा सस्तो मूल्यमा बाहिरबाट आउने कम गुणस्तरको रेडिमेड टोपीका कारण कारागारका कैदी बन्दीले उत्पादन गरेका ढाका टोपीले बजार नपाएको जनाइएको छ ।
‘अधिकांश कैदी बन्दी सृजनशील तथा व्यावसायिक काममा आबद्ध छौँ । तर हामीले उत्पादन गरेका सामग्रीले बजार नपाउँदा समस्या भएको छ । परिबन्दले हामी जेल जीवन बिताउन बाध्य छौँ । हाम्रा पनि घरपरिवार छन् । उनीहरूको गर्जो टार्नकै लागि भए पनि व्यावसायिक काम गर्छौँ’, उनले भने ।
कैदी बन्दीमध्ये कतिपयले काठका फर्निचरसमेत निर्माण गर्ने गरेका छन् । उनीहरूले बाहिरबाट खरिद गरेर ल्याइएका काठबाट टेबल, कुर्सी, दराजलगायतका सामग्री निर्माण गरेर बिक्री गर्ने गरेको कारागारले जनाएको छ । महिला ३३ र पुरुष ६६ जना गरी ९९ जना कैदी बन्दीका लागि निर्माण गरिएको कारागारमा अहिले महिला छ जना तथा पुरुष एक सय ५० जना रहेका छन् ।



































