काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारीहरुले घरजग्गामा गर्ने लगानी तत्काल बन्द गर्न सरकारलाई आग्रह गर्दै सुझाव-पत्र बुुझाएको छ ।
सहकारी तथा लघुवित्त क्षेत्रमा देखिएको समस्याबारे अध्ययन गर्न रास्वपाले उपाध्यक्ष डा.स्वर्णिम वाग्लेको नेतृत्वमा बनाएको समितिले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफ्नो सुझाव पत्र बुझाएको हो ।
प्रतिवेदनमा एक वर्षका लागि बचत तथा ऋण कारोबार गर्ने सहकारी दर्ता, कार्यक्षेत्र विस्तार अनुमति तथा सेवा केन्द्र स्वीकृतिका काम बन्द गर्न सुझाव दिइएको छ ।त्यस्तै ‘सहकारीहरुले घरजग्गा लगायतका अनुत्पादनशील क्षेत्रमा गरिने लगानीलाई बन्द गर्ने’ प्रतिवेदनमा भनिएको छ ।
५० करोडभन्दा बढी कारोबार गर्ने सहकारीको नियमन राष्ट्र बैंक अन्तर्गत ल्याउनुपर्ने र बचतकर्ताको निक्षेप सुरक्षण गर्न सहकारी बचत तथा कर्जा सुरक्षण कोष तत्काल स्थापना गर्नुपर्ने लगायतको विषयम समेटिएको रास्वपाले बताएको छ ।
बचत फिर्ता गर्न नसक्ने अवस्थामा रहेका सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने र त्यसको सम्पत्ति विक्री लगायतबाट बचत फिर्तालाई प्राथमिकता दिनुपर्ने रास्वपाले बताएको छ । लघुवित्तको हकमा काबु बाहिरको परिस्थितिले ऋण भुक्तानी गर्न अप्ठ्यारोमा परेका ऋणीहरुको पहिचान गर्ने, नियतबस ऋण नतिर्नेहरुलाई कालोसूचीमा राखेर ऋण असुली प्रक्रिया अगाडि बढाउनुपर्ने रास्वपाले बताएको छ ।
सहकारीहरु आफ्नो मर्मअनुसार चल्न वातावरण बनाउने र उत्पादनमुखी सहकारीमा पुँजी केन्द्रित गर्ने हो भने हरित अर्थतन्त्रमा व्यापक लगानी र उच्च आयमुलक लाखौं रोजगारीको अवसर सिर्जना गर्नसक्ने भन्दै रास्वपाले भनेको छ, हाल देखिएका समस्याका बाबजुद नेपालमा सहकारी अभियानलाई घटाउने होइन, सहकारीको नियमन गर्दै अझ गुणात्मक बनाउन पहल गर्नुपर्छ ।’
रास्वपाको समितिले ऐन कानुनमा गर्नुपर्ने संशोधनका साथै पदाधिकारी तथा कर्मचारीको क्षमता अभिवृद्धि र वित्तीय साक्षरताबारे पनि सुझाव दिएको छ ।






























