काठमाडौँ । आजदेखि नेपाल–भारत वाणिज्य सचिव स्तरीय संयन्त्र (आईजीसी) को बैठक काठमाण्डौमा सुरु भएको छ। विगत चार वर्षदेखि हुन नसकेको उक्त बैठक आजदेखि सुरु भएको हो।
आईजीसी बैठकमा नेपालले भारतमा वस्तु निर्यातमा देखिएको समस्या समाधानदेखि वाणिज्य सन्धि पुनरावलोकनसम्मका विषय उठाउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले भनाई छ ।उनले नेपालको आयात–निर्यात र व्यापारका हिसाबले भारत महत्त्वपूर्ण छिमेकी देश भएकाले छलफल निकै महत्त्वपूर्ण रहेको जनाएका छन् ।
नेपाल भारतबिच केही समयदेखि व्यापार र पारवहनमा देखिएका समस्याहरू समाधान गर्ने विषयमा छलफल केन्द्रित रहेको अधिकारीको भनाई छ । उनले एक अर्को देशको गुणस्तर प्रमाणीकरण गर्ने निकायले जारी गरेको गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन सहमति गर्ने, नेपाली निर्यातकर्ताले बीआईएस प्रमाणपत्र लिनुपर्ने व्यवस्थालाई नेपालको गुणस्तर तथा नापतौल विभागले दिने गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन आग्रह गर्ने जस्ता एजेन्डा नेपालतर्फको रहेको बताएका छन्।
बैठकमा भारतका प्रतिनिधिहरू सकारात्मक भएर सहभागी भएकाले उपलब्धिमूलक हुने प्रवक्ता अधिकारीले विश्वास व्यक्त गरेका छन् । नेपाली निर्यातकर्ताले बीआईएस प्रमाणपत्र लिन ढिलाइ भएको विषयलाई पनि बैठकमा राखिने उनको भनाई छ ।
यो बैठकले नेपाली निर्यातकर्ताले बीआईएस प्रमाणपत्र लिन सहज बनाउने विषयमा 'ब्रेक थ्रु' हुने विश्वास गरिएको छ । बैठकमा निजी क्षेत्रले कृषि वस्तुको हकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन आग्रह गर्नसमेत माग गरेका छन् ।
नेपाल–भारत वाणिज्य सचिव स्तर संयन्त्रको बैठक भोलिसम्म चल्ने छ। बैठकमा नेपाली निजी क्षेत्रले ढुवानीको लागत घटाउन, विराटनगर-सुनौली–नौतनवा रेल सेवालाई निरन्तरता दिन र थप बन्दरगाहमा नेपालको पहुँच पुर्याउने विषयलाई प्राथमिकतामा राख्न सुुझाव दिने नेपालको तयारी रहेको छ ।
































