काठमाडौँ । चीनमा सन् २०२५ को पहिलो ६ महिनामा ५६ लाख २० हजार नयाँ उर्जा सवारी (हरित ऊर्जा आधारित सवारी) दर्ता भएका छन् । यो अहिलेसम्मकै सबैभन्दा बढी हो । चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७.८६ प्रतिशतले वृद्धि भएको हो ।
यो संख्या चीनको इतिहासमा कुनै पनि आधा वर्षको अवधिमा भएको सबैभन्दा धेरै हरित सवारी दर्ताको रेकर्ड हो । उक्त अवधिमा चीनमा दर्ता भएका कुल सवारीमध्ये ४४.९७ प्रतिशत हरित उर्जा सवारी थिए । यसले चीनको यातायात प्रणाली स्वच्छ उर्जा प्रणालीमा तीव्र रूपमा रूपान्तरण भइरहेको संकेत गरेको छ ।
सन् २०२५ को मध्यसम्म चीनको सडकमा चल्ने कुल हरित उर्जा सवारीको संख्या तीन करोड ६८ लाख ९० हजार पुगेको छ । यो चीनमा चलिरहेका सबै प्रकारका सवारीमध्ये १०.२७ प्रतिशत हो ।
यीमध्ये ब्याट्रीबाट चल्ने सवारी सबैभन्दा अगाडि छन् । हाल चीनमा झन्डै दुई करोड ५५ लाख ४० हजार यस्ता सवारी छन् । यो कुल हरित सवारीको ६९.२३ प्रतिशत हो ।
गत दशकमा चीनको हरित सवारी क्षेत्रमा तीव्र वृद्धि देखिएको छ । सन् २०१४ मा जम्मा एक लाख २० हजार हरित सवारीमात्र सञ्चालनमा थिए । सन् २०२२ को मध्यसम्म यो संख्या एक करोड नाघ्यो । सन् २०२३ को अन्त्यसम्म यो संख्या दोब्बर हुँदा २०२४ को अन्त्यसम्म तीन करोड पार गरेको छ ।
राष्ट्रिय उर्जा प्रशासनका अनुसार सन् २०२५ को चैतसम्म चीनभर चार्ज गर्ने पूर्वाधारको संख्या ४७.६ प्रतिशतले वृद्धि भई झन्डै एक करोड ३७ लाख ५० हजार पुगेको छ । यसमध्ये करिब ३९ लाख सार्वजनिक चार्जिङ केन्द्र छन् भने ९८ लाख ५० हजार व्यक्तिगत चार्जिङ उपकरण छन् ।

































