काठमाडौँ । भदौ २४ गते सिंहदरबार र विभिन्न सरकारी कार्यालयहरूमाथि जेन्जीको आन्दोलन हिंसात्मक रूपमा परिणत भयो । आन्दोलनका क्रममा प्रदर्शनकारीले सरकारी तथा निजी सम्पत्तिमा क्षति पुर्याए । हिलटन होटल, भाटभटेनी डिपार्टमेन्ट स्टोरका आउटलेट, आइएमई ग्रुपद्वारा सञ्चालित केबलकारका स्टेसन, एनशेल, सवारीसाधनका शोरुमहरू तथा उद्योगीका निजी निवासमा आन्दोलनकारीले छानीछानी आगो झोसिदिए ।
सो क्रममा चौधरी ग्रुप (सीजी) का महत्वपूर्ण सम्पत्तिहरू पनि आन्दोलकारीको निशानामा परे ।
सीजीका प्रतिनिधिका अनुसार ग्रुपका अध्यक्ष विनोद चौधरीको निवास, ग्रुपको सानपास्थित मुख्यालय, थापाथली मोटर शोभरूम र चितवनको सीजी ल्याण्डमार्क मल पनि प्रदर्शनकारीको हिंसात्मक गतिविधिको निशानामा परेका थिए। यी सम्पत्तिहरूमा आगो मात्र लगाइएन । लुटपाट गरियो र धेरै मूल्यवान सामग्रीहरू नष्ट पनि गरिए।
सातुङ्गलस्थित सीजी डिजिटल पार्क मा भएको आगजनीले विशेष गरी डिजिटल पूर्वाधारमा गम्भीर क्षति पुर्याएको छ । देशका हजारौं प्रयोगकर्ताले इन्टरनेट सेवामा अवरोध भोग्नु परेको छ । व्यापारिक स्रोतहरूले यस घटनाले व्यवसायिक क्रियाकलापमा समेत ठूलो असर पारेको बताएका छन् ।
सीजी ग्रुपले आफ्नो क्षतिको मूल्याङ्कन गरिरहेको छ र सेवाहरू पुनः सुचारु गर्न कदम चालिरहेको जनाएको छ।
चौधरी ग्रुपले हजारौँ नेपालीहरूलाई रोजगारी दिँदै आएकोमा आन्दोलनकारीले गरेको आगजनी तथा तोडफोडले अर्थतन्त्रमा प्रत्यक्ष असर गर्ने देखिएको छ । देशको अर्थतन्त्रलाई मजबुद बनाउन भूमिका खेल्ने औद्योगिक क्षेत्रलाई हौसला दिनुको सट्टा गरिएको त्यस खालको व्यवहारले उद्योगीहरूको मनोबललाई गिराएको छ ।
ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले शोकलाई शक्तिमा बदल्ने अठोट लिएको जनाएक छन् । "आज हामी पीडामा छौं । घाइते छौं तर ढलेका छैनौं । यस विपत्तिबाट हामी फेरि उठ्नेछौं । अझ मजबुत भएर उठ्नेछौं । पुनर्निर्माण केवल भवनहरूको मात्र हुनेछैन । हाम्रो विचार, दृष्टि र प्रतिबद्धताको पुनर्जन्म हुनेछ," उनले भनेका छन् ।
विश्वभर प्रख्यात व्यापारिक घराना चौधरी ग्रुप सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न परोपकारी कार्यमा पनि संलग्न हुँदै आएको थियो । राज्यलाई राजस्व तिरेर पनि अर्थतन्त्रमा ग्रुपले टेवा पुर्याउँदै आएको छ ।


































