काठमाडौँ । गत भदौ २३ र २४ गतेको ध्वंसात्मक जेन्जी आन्दोलनको प्रभाव सेयर बजारमा पनि देखिएको छ। आन्दोलनपछि बिहीबार पहिलो पटक खुलेको बजारमा तीन पटक नेगेटिभ सर्किट ब्रेक लागेसँगै कारोबार स्थगित भएको हो। दिनभर बजार ६ प्रतिशतले घटेको छ।
कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घट्दा पहिलो सर्किट ब्रेक लाग्यो। त्यसपछि २० मिनेट स्थगित भई खुलेको बजार थप १ प्रतिशत अर्थात् कुल ५ प्रतिशतले झर्दा ११:२३ बजे दोस्रो सर्किट ब्रेक लाग्यो।
दोस्रो सर्किट ब्रेकपछि ४० मिनेटका लागि कारोबार रोकिएको थियो। १२:०४ बजे खुलेको बजार फेरि १ प्रतिशत अर्थात् कुल ६ प्रतिशत घटेपछि तेस्रो सर्किट ब्रेक लागेर आजका लागि कारोबार स्थगित भएको हो।
६ प्रतिशत घट्दा नेप्से परिसूचक १६० अंक घटेर २५११ मा कायम भएको छ। कुल करिब ४ मिनेट मात्र कारोबार चल्यो भने ७२ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ।


































