काठमाडौं । तनहुँ जिल्लामा ४५ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आवद्ध भएका छन् । जिल्लाका तीन लाख २१ हजार एक सय ५३ जनामध्ये एक लाख ४५ हजार सात सय ९८ जना स्वास्थ्य बिमामा आवद्ध भएको जिल्लास्थित स्वास्थ्य बिमा बोर्डले जनाएको छ ।
बोर्डका अनुसार विपन्न नागरिकतर्फ दुई हजार पाँच सय ८९ परिवार र साधारणतर्फ २४ हजार आठ सय ८६ परिवारको स्वास्थ्य बिमा गरिएको छ । उनका अनुसार १९ हजार नौ सय ३३ ज्येष्ठ नागरिक, एक सय ८७ एचआइभी सङ्क्रमित, चार जना क्षयरोगी, ६ सय ५५ अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बिमा भएको छ ।
स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन पाँच जनासम्मको परिवारले वार्षिक रूपमा रु तीन हजार पाँच सय तिर्नुपर्दछ । परिवारमा पाँच भन्दाबढी सदस्य भएमा प्रति सदस्यको रु सात सयका दरले थप रकम तिर्नुपर्ने प्रावधान रहेको रहेको छ ।
सरकारले बिमामा आवद्ध पाँच सदस्यलाई वार्षिक रु एक लाख बराबरको स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । नेपालको संविधान, २०७२ को धारा ३५ मा आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रूपमा स्थापित गरेपछि नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन आर्थिक वर्ष २०७२र७३ देखि यो कार्यक्रम लागू गरिएको हो ।






































