काठमाडौँ । हिन्दु नेपालीको दोस्रो चार्ड तिहार सकिएसँगै तराई- मधेसमा छठ पर्वको रौनक सुरु भएको छ। सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रूपमा लिइन्छ।
लक्ष्मीपूजाको चार दिनपछि अर्थात् कात्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठ पर्व विधिवत् रूपमा आरम्भ हुन्छ। नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रूपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त देखिएका छन्।
बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्रीलगायत छठ पर्वमा आवश्यक नरिवल र सख्खर किनमेल गर्न स्थानीयवासी व्यस्त छन्। मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न ग्रामीण स्तरमा रहेका पोखरी, इनार, ताल तलैयालगायत जलाशयलाई सजाउने कार्यसमेत तीव्र बनेको छ।
छठमा सिङ्गै केराको घरी भगवान्लाई अर्घका रूपमा चढाउने परम्परा छ । छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिको भनाई छ ।
गत वर्षको छठमा चार करोडको केरा जनकपुर भित्र्याइएको थियो भने यस वर्ष झण्डै एक सय ५० ट्रक केरा भित्र्याइएको छ । जनकपुरधाममा गोपाल र वंशीभोग जातका केरा सप्तरी जिल्लाको भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ।
मालभोग, मिरिचमान, चिनी चम्पा जातका केरा भारतको आसाम, गुवाहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पा रणबाट आयात गर्ने गरिएको समितिले जनाएको छ। छठ पर्वसँगै गत वर्षको तुलनामा यस वर्ष ३५ प्रतिशतले केराको भाउ महँगिएको छ। बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष ४०-४५ ट्रक बढी केरा आयात हुने भएको छ ।
नेपालको हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छन् । नेपालमा मालभोग, झापाली मालभोग, बिलियम हाइब्रिड रोवस्टा, बिलियम हाइब्रिडलगायत जातका केरा खेती हुँदै आएको छ । सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याका कारण केराको उत्पादन बढाउन नसकिएको कारण छिमेकी देश भारतबाट ठुलो मात्रामा केरा आयात गर्नुपरेको व्यवसायीहरूको भनाइ छ ।



































