काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (साउन–भदौ) मा नेपालले तीन खर्ब पाँच अर्ब १५ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिभन्दा १६.२३ प्रतिशतले बढी हो।
गत वर्ष दुई महिनामा दुई खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँ बराबरको आयात भएको थियो।
त्यस्तै, निर्याततर्फ भने उत्साहजनक सुधार देखिएको छ। दुई महिनामा निर्यात ८८.५७ प्रतिशतले बढेर ४७ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। गत वर्ष भदौसम्म नेपालबाट मात्र २५ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो।
तर, निर्यात वृद्धि आयातको तुलनामा निकै न्यून भएकाले व्यापार घाटा अझै विशाल छ। चालु आर्थिक वर्षका दुई महिनामा मात्र नेपालको व्यापार घाटा करिब दुई खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ।
आयात संरचनामा इन्धन अग्रस्थानमा छ। दुई महिनामै ४५ अर्ब ३९ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ विदेशिएको छ। त्यसपछि वनस्पति तेल ठूलो आयात समूह बनेको छ।
त्यस्तै, आइरन र स्टिल आयातमा २२ अर्ब ९७ करोड, इलेक्ट्रिकल मेसिन तथा पार्टपुर्जामा २२ अर्ब १६ करोड, सवारीसाधनमा १७ अर्ब २२ करोड, र औषधीजन्य सामग्रीमा ७ अर्ब १० करोड रुपैयाँ बराबरको खर्च भएको विभागको तथ्याङ्क उल्लेख छ ।


































