काठमाडौं। नबिल बैंकले दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको छ । बैंकले वैदेशिक रोजगारीमा गएर सीप सिकेर नेपाल आएका युवाहरूलाई प्रोत्साहन गर्ने उदेश्य राखेर दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको बताएको छ ।
बिहीबार औपचारिक रूपमा शुभारम्भ गर्दै बैंकले स्वदेशमा उद्यम गर्न चाहने प्रवासी नेपाली र उनीहरूको परिवार लक्षित १० करोड रूपैयाँसम्मको कर्जा सुविधा ल्याएको जानकारी दिएको छ । ।
बैंकले कृषि, हस्तकला तथा साना उद्यमी गर्ने प्रवासी नेपालीलाई १५ लाख रूपैयाँको कर्जा प्रदान गर्नेछ । त्यसैगरी, बैंकले लगानी थप गरी उद्योग विस्तार गर्न चाहनेलाई १५ लाख रूपैयाँदेखि १ करोड रूपैयाँसम्म कर्जा दिने भएको छ । त्यसमा बैंकले विभिन्न चरणमा विभाजन गरी कर्जाको सीमा तोकेको हो ।
त्यस्तै, सञ्चालनमा रहेका उद्योगलाई थप लगानी गरी व्यवसाय अगाडि बढाउनेलाई १ करोडदेखि ५ करोड रूपैयाँसम्म सुविधा बैंकले दिने भएको छ । उक्त कर्जा व्यापार बढाउने र नयाँ प्रविधि प्रयोग गरेर बजारमा जाने योजना रहेका नेपालीलाई प्रदान गर्नेछ ।
सञ्चालन गर्दै आएका व्यवसायलाई बजारमा ठूलो क्षमतामा अगाडि बढाउने योजना बनाएका युवाहरूलाई बैंकले १० करोड रूपैयाँसम्म कर्जा दिनेछ । कर्जाका लागि नागरिकतासहित कोल्याट्रलको आवश्यक पर्नेछ । बैंकले कर्जामा १.५ प्रतिशत ब्याजदर कायम गरेको छ। कर्जा प्राप्तका लागि धितोको रूपमा व्यक्तिगत ग्यारेन्टी र जग्गा तथा आफूसँग भएको सम्पत्ति राख्न सकिने बैंकको जानकारी छ ।
उक्त कर्जा आयमुलक व्यवसायरउद्यम सुरू वा विस्तार गर्न प्रोत्साहन हुने बैंकको विश्वास छ । बैंकले न्यूनतम आकर्षक ब्याजदरका साथ १० वर्षसम्मका लागि कर्जा दिने भएको हो । बैंकले कर्जा लिन चाहनेका लागि ३(५ कार्य दिनभित्र कर्जा स्वीकृती दिने बैंकले जनाएको छ।
बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहज बनाउन बैंकले एउटा मुभमेन्ट नै ल्याएको बताए । प्रवासी नेपालीहरूले धेरै प्रकारका सीप सिकेर आउने र त्यसको प्रयोग गरेर दिगो रूपमा रोजगारी तथा उद्यम गर्न सक्ने वातावरण यसबाट सिर्जना हुने उनले बताए ।‘दक्ष प्रवासी उद्यमशील कर्जाले कर्जा मात्रै नभएर सीपको उपयुक्त प्रयोग हुनेछ,’ उनले भने।































