काठमाडौं। व्यापार घाटा न्यूनीकरण एवं निर्यात वृद्धिका लागि नेपाल चेम्बर अफ कर्मस र निर्यात परिषदबीच सहकार्य, समझदारी हुुने भएकोा छ ।
परिषदका नवनिर्वाचित कार्यसमितिलाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा स्वागत गर्ने क्रममा निर्यात सहजीकरणका लागि नीतिगत सुधार एवं सम्भावनाका विभिन्न विषयमा सहकार्य गर्ने सझदारी बनेको हो ।
निर्यातयोग्य बस्तुहरुको पहिचान र प्रर्वद्धन हुन नसक्दा अपेक्षित लाभ लिन नसकिएको चेम्बर अध्यक्ष राजेन्द्र मल्लको भनाई छ । अध्यक्ष मल्लले ‘मुलुकमा १० खर्व भन्दा बढीको निर्यात सम्भावना रहेको तर डेढ खर्व रुपियाँ बराबरको पनि निर्यात हुन नसकेको बताएका छन् ।
निर्यात प्रर्वद्धनमा देखिएको नीतिगत कठिनाई अन्त्य गर्न चेम्बरले पहल गर्ने अध्यक्ष मल्लको भनाई छ । व्यापार घाटा न्यूनीकरणका लागि नीतिगत सुधारसंगै भन्सार प्रशासनलाई चुस्त र प्रभावकारी बनाउनुपर्ने उनको भनाई छ ।
मुलुकभरबाट उत्पादन भएका कृषिजन्य, हस्तकला, जडिबुटी, चिया, कफी लगायतका वस्तुलाई एकै ठाउँमा जम्मा गरी एकीकृत निर्यात केन्द्र वा निर्यात प्रवर्धन गृहमार्फत निकासी गर्न सकिए साना व्यवसायीलाई लाभ तथा उत्पादन लागत कम हुनेमा अध्यक्ष मल्लले जोड दिएका छन् ।
चालु आर्थिक वर्षको ५ महिनामा नै व्यापार घाटा ५ खर्व ९७ अर्व रुपैयाँ नाघिसकेको भन्दै अध्यक्ष मल्लले प्रत्येक वर्ष मुलुकको व्यापारघाटा बजेटकै हाराहारीमा हुन थालेको भन्दै चिन्ता ब्यक्त गरेका छन् ।
मुलुकको निर्यात प्रवर्धनका लागि विदेशी मुलुकका निजी क्षेत्रसँग उच्चस्तरीय व्यवसायीक भेटवार्ताका लागि चेम्बरले पहल गर्ने अध्यक्ष मल्लको भनाई छ । व्यापार सहजीकरणका लागि चेम्बरले विभिन्न देशका राजदूतहरूसँग छलफल गरिरहेको भन्दै अध्यक्ष मल्लले विदेशी निजी क्षेत्रसँग व्यापार सहजीकरणका लागि पहल भइरहेको समेत बताए ।

































