काठमाडौं । नेपालमा पछिल्लो समय बढ्दै गइरहेको बीमा पोलिसि सरेण्डरको प्रमुख कारक तत्त्वका रूपमा सामाजिक प्रभाव र विशेष गरी परिवार र साथीभाइहरूले दिएको सल्लाह रहेको एक अनुसन्धानले देखाएको छ ।
हालै मात्र प्रकाशन भएको बीमाबिज्ञ डा.भरत सिंह थापा, डा. विलास तथा डा.रवीन्द्र घिमिरेले सयुक्त रुपमा तयार पारेको ‘Policyholder Surrender Behavior in the Nepalese Life Insurance Market During the COVID-19 Pandemic’ नामक एक अध्ययन प्रतिवेदनमा परिवार र साथीभाइहरूले दिएको सल्लाहको कारणले गर्दा ४२ प्रतिशत बिमितहरुले पोलिसि सरेण्डर गरेको पाइएको छ ।
यसपछिको अर्को मुख्य कारणमा पोलिसिको बारेमा पर्याप्त जानकारीको अभावका कारण ३३ प्रतिशत, बीमाको बारेमै जानकारी नभएका कारणले २८.२१ प्रतिशत र वित्तीय सङ्कटका कारणले २७ प्रतिशत बीमितले पोलिसि सरेण्डर गर्ने गरेको पाइएको छ ।
यस्तै सम्बन्धित बीमा कम्पनीबाट सल्लाहको अभावका कारण २६.९७ प्रतिशत, कम्पनीको कमजोर सेवाका कारण २२.२५ प्रतिशत, एजेन्टहरूद्वारा गरिने फलोअपमा कमी भएका कारणले २१.८ प्रतिशत बीमा पोलिसि सरेण्डर भएको देखिएको छ ।
प्रिमियम तिर्न नसकेको कारणले गर्दा १८.६५, पारिवारिक आयमा भएको कमीको कारणले १६.८, एजेन्टहरूको सुझावका कारणले १६.४, बीमा कम्पनीहरूले नै दिएको सुझावका कारण १५.७३ प्रतिशत र अभिकर्ताहरूले पोलिसिको बारेमा दिएको गलत जानकारीका कारणले १४.८३ प्रतिशतले पोलिसि सरेण्डर गर्ने गरेको अध्ययनको निष्कर्ष छ ।
यस्तै विभिन्न कारणले बीमित नै विदेश गएका कारणले १२.८१, बीमाको महत्त्व नै कम ठानेको कारणले १२.३६ प्रतिशत र बीमा कम्पनीले दिने कम बोनस दरका कारणले १०.५६ प्रतिशतले पोलिसि सरेण्डर गर्ने गरेका छन् ।
प्रतिवेदनका अनुसार लामो समयसम्म नवीकरण नगरिनु, अन्य क्षेत्रमा लगानीको अवसर प्राप्त गरेका कारणले ९.६६ प्रतिशत, कम बीमाङ्क भएका कारण ९.२१ प्रतिशत, लामो समयसम्म पोलिसि नवीकरण नभएका कारणले ८.७६ प्रतिशत, नवीकरण गर्दा लाग्ने जरिवानाका कारण ८.५४ प्रतिशत, कम्पनीका नियम र सर्तहरू आफू अनुकूल नभएका कारण ६.९७ प्रतिशत, एजेन्टहरूले गर्ने ठगीका कारण ६.२९ प्रतिशत, मृत्यु वा म्याच्युरिटी दाबीमा विश्वास नभएका कारण ५.३९ प्रतिशत पोलिसि सरेण्डर भएका छन् ।
नराम्रो घटना घट्ने डरका कारण ५.१७ प्रतिशत, कर्जा सुविधाको जानकारी नभएका कारण ४.२७ प्रतिशत, अभिकर्तासँग राम्रो सम्बन्ध नभएका कारण ३.३७ प्रतिशत, कम्पनीको नकारात्मक छविका कारण १.३५ प्रतिशत र पारिवारिक आय भएको वृद्धिका कारणले १.३५ प्रतिशत पोलिसि सरेण्डर हुने गरेको निष्कर्ष उक्त अध्ययन प्रतिवेदनले निकालेको छ । यसका साथै यो अध्ययनमा बीमामा बढिरहेको पोलिसि सरेण्डरका घटनाहरूलाई कम गर्न बीमा कम्पनीहरू र एजेन्टहरू दुवैको महत्त्वपूर्ण भूमिकालाई हाईलाइट गरिएको छ ।
बीमा पोलिसि सरेण्डरका बारेमा गरिएको यो अध्ययन नेपाली सन्दर्भमा पहिलो अनुसन्धान हो । यसका साथै यो अध्ययनमा बीमामा बढिरहेको पोलिसि सरेण्डरका घटनाहरूलाई कम गर्न बीमा कम्पनीहरू र एजेन्टहरू दुवैको महत्त्वपूर्ण भूमिकालाई हाईलाइट गरिएको छ ।
यस्तै बीमा क्षेत्रमा कोभिड–१९ महामारीले पारेको प्रभावका बारेमा समेत यो अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । डा. घिमिरेले काठमाडौं सहित नेपालका प्रमुख आठ सहर पोखरा, विराटनगर, वीरगन्ज, जनकपुर, बनेपा, भरतपुर र धनगढी लगायत मध्य पहाडी, भित्री तराई र तराईमा रहेका तीन ओटा सहरहरूलाई आधार मानेर उक्त अध्ययन प्रतिवेदन तयार पारेको बताएका छन् ।







































