काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जेनजी युवाहरूको आन्दोलनबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि पुनर्निर्माण कोषमा योगदान दिन सबैमा आह्वान गरेका छन्।
गत भदौ २३–२४ मा भएको आन्दोलनका क्रममा भएका क्षति भर्न गत बुधबार पुनर्निर्माण कोष स्थापना गरिएको हो। घिसिङले सर्वसाधारण र संस्थाहरुलाई आर्थिक सहयोग गर्न प्रोत्साहित गरेका छन्।
सरकारले गठन गरेको समितिको अध्यक्ष अर्थमन्त्री हुनेछन् भने यसमा पाँच सदस्य रहनेछन्।
समितिमा गृहमन्त्री, सहरी विकासमन्त्री, मुख्यसचिव र सहरी विकास मन्त्रालयका सचिव सदस्य हुनेछन्। समितिको कार्यकाल एक वर्षको हुनेछ तर आवश्यक परे ६ महिना थप गर्न सकिने जनाइएको छ।
समितिले क्षतिग्रस्त सरकारी संरचनाको पुनर्निर्माणका लागि कार्ययोजना तयार पार्ने, स्वीकृत गर्ने र सम्बन्धित निकायको जिम्मेवारी तोक्नेछ। यसका साथै पुनर्निर्माणका कार्यक्रम स्वीकृत गर्ने कार्यसमेत यस समितिले गर्नेछ।


































