काठमाडौं– ७ किलो भन्दा बढी सुन र ६ किलो बढी चाँदीसहित जिल्ला प्रहरी कार्यालय कास्कीले १ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल मेदिनीपुर दासपुर–११ घर भइ पोखरा महानगरपालिका–२ मोहोरिया टोलस्थित जय भैरव ज्वेलर्स संचालन गरी बस्ने ४० वर्षीय सुरजित भौमिक रहेका छन् ।
मोहरियाको ज्वलेर्सबाट स्रोत खुलाउन नसकेको सुनका गहना तथा काँचो सुन ७ किलो ७ सय ८१ ग्राम ९९ मिलिग्राम बरामद गरिएको कास्की प्रहरीले जानकारी दिएको छ।
त्यसैरी चाँदीका गहना ६ किलो र नगद ६२ लाख ८१ हजार रूपैयाँसहित मंगलबार बिहान भौमिकलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) मोहन थापाले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले भौमिकले संचालन गरेको उक्त ज्वेलर्सबाट स्रोत खुलाउन नसकेको उक्त गहना र नगदसहित उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।


































