काठमाडौं । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका सम्बन्धमा गठित उपसमितिले बुझाएको प्रतिवेदन अध्ययनका लागि सदस्यहरूलाई वितरण गरेको छ । उक्त प्रतिवेदनमाथि आउँदो बैठकमा छलफल गर्ने निर्णय गरिएको छ ।
समिति सभापति ऋषिकेश पोखरेलको अध्यक्षतामा आइतबार बसेको बैठकले भैरहवा विमानस्थलका सम्बन्धमा गठित उपसमितिको नयाँ संयोजक चयन गरी यथाशीघ्र प्रतिवेदन बुझाउन उपसमितिलाई निर्देशन दिने निर्णय गरेको छ । एमाले नेता योगेश भट्टराई सो समितिमा नबस्ने घोषणापछि संयोजकको पद रिक्त रहेको थियो ।
ती दुवै विमानस्थल निर्माणमा अनियमितता र आर्थिक अपचलन भएको भन्ने समितिमा उजुरी परेपछि अध्ययन उपसमिति गठन गरी छानबिन गरिएको थियो । त्यस क्रममा पोखराका लागि समिति सदस्य राजेन्द्र लिङदेन र भैरहवाका लागि भट्टराईलाई संयोजकको जिम्मेवारी दिइएको थियो ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा रही काम गरेको हुनाले उपसमितिको संयोजकबाट अलग भएर छानबिनमा सहयोग गर्नुपर्छ भनेर प्रश्न उठाइएपछि भट्टराईले संयोजकबाट अलग रहने घोषणा गरेका थिए ।
बैठकले समितिको २३औं वार्षिक प्रतिवेदन तयार गरी यही महिनाभित्र संसदमा पेश गर्ने तथा त्यसका लागि आजसम्म उपसमितिहरूले तयार पारेका प्रतिवेदनलाई अनुमोदन गर्ने निर्णय गरेको सभापति पोखरलले जानकारी दिए ।
































