काठमाडौं । प्रभु बैंक रूकुम पश्चिम आठबिसकोटस्थित अपरेशन इन्चार्ज नरजविक्रम शाहविरुद्ध आर्थिक हिनामिनाको उजुरी परेको छ।
शाहले एक करोड ३१ लाख २५ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा उजुरी परेको हो । प्रभु बैंकको कर्णाली प्रदेश कार्यालयका इन्चार्ज शरद तिमिल्सिनाले जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिममा शाहविरूद्ध उल्लेखित रमक हिनामिनाको आरोपमा उजुरी आएको जिल्ला प्रहरी प्रमुख नमराज भट्टराईले जानकारी दिएका छन् ।
डिएसपी भट्टको अनुसार ‘मुद्दाका आधारमा बैंकको प्रतिवेदन हेर्ने र त्यसपछि प्रक्रियागत रुपमा अरू स्टेटमेन्टहरू पनि मागेर रकम हिनामिनाको घटना अध्ययन गर्ने जानकारी दिएका छन् ।
बैंकका कर्णाली प्रदेश इञ्चार्ज तिमिल्सिनाले तीन वटा चेक बराबरको एक करोड ३१ लाख २५ हजार रुपैयाँ हिनामिना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको हुँदा आफूले प्रहरीमा गई शाहविरूद्ध मंगलबार उजुरी दिएको बताए।
जिल्ला प्रहरी प्रमुख डिएसपी भट्टराईका अनुसार आर्थिक हिनामिनाको आरोपी शाहको मोबाइलको अन्तिम लोकेसन नेपाल-भारत सीमा क्षेत्र बाँकेको नेपालगञ्जको रुपैडिहा क्षेत्र देखाएको र त्यसपछि मोबाइल स्वीच अफ रहेको हुँदा खोजी कार्य जारी रहेको बताए ।
बैंकका कर्णाली प्रदेश इन्चार्ज तिमिल्सिनाले बैंकका शाखा प्रबन्धक डम्बर गौतम घर विदामा बसेको समयमा शाखाको जिम्मेवारी पाएको समयमा शाहले आर्थिक हिनामिना गरेको देखिएता पनि घटनाको स्वतन्त्र रूपमा अध्ययन अनुसन्धान गर्न आठबिसकोटस्थित शाखा कार्यालयमा सबै नयाँ कर्मचारीबाट काम भइरहेको जानकारी दिएका छन् ।


































