काठमाडौँ । नेपाल धितोपत्र बोर्डले ‘प्री-आईपीओ’ को नाममा शेयर खरिद-बिक्री नगर्न आग्रह गरेको छ ।
बोर्डले आज एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल र अन्य माध्यमबाट अनाधिकृत रूपमा पैसा संकलन भइरहेको भन्दै यस कार्यमा संलग्न नहुन सबैलाई सूचित गरेको हो।
बोर्डमा प्राप्त गुनासोअनुसार सार्वजनिक निष्काशन नभएका विभिन्न कम्पनीहरूको शेयर ‘प्री(आईपीओ’ को नाममा बेचिँदै छ। सामाजिक सञ्जाल, इमेल तथा एसएमएस मार्फत निकट भविष्यमा आईपीओ आउने भन्दै सर्वसाधारणलाई शेयर खरिद गर्न प्रस्ताव गरिएको पाइएको छ।
विज्ञप्तिमा बोर्डले प्रचलित कानुनमा ‘प्री-आईपीओ’ सम्बन्धी कुनै पनि व्यवस्था नभएको उल्लेख गरेको छ । यस्तै धितोपत्रसम्बन्धी ऐन, २०६३ अनुसार ५० जनाभन्दा बढी व्यक्तिलाई शेयर बिक्री गर्नुपरेमा सार्वजनिक निष्काशन गर्नुपर्ने व्यवस्था गरिएको छ।
बोर्डले त्यसरी अनुमति नलिई सार्वजनिक रूपमा शेयर खरिद(बिक्री गर्नु दण्डनीय अपराध भएको भन्दै त्यस्ता कार्य नगर्न पनि अपील गरेको छ ।


































