काठमाडौं। बागलुङको इमेज बचत तथा सहकारी संस्थाकी कोषाध्यक्ष लक्ष्मी सेन पक्राउ परेकी छिन् ।
पश्चिम बागलुङको निसिखोला गाउँपालिका-३ बस्ने २७ वर्षीया लक्ष्मी सेन सुनारलाई ललितपुरको धोबीघाटबाट पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जानकारी दिएको छ ।
पक्राउ परेकी लक्ष्मीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङमा जिम्मा लगाइएको सीआईबीका प्रवक्ता तथा एसपी नवराज अधिकारीले बताएका छन् ।
बागलुङको ढोपाटन नगरपालिकाका मेयर समेत रहेका देब कुमार नेपालीसहित ८ जना फरार रहेकोमा खोजी गर्दा सुनार पक्राउ परेको सीआईबीले जनाएको छ ।
मेयर नेपाली र उनकी श्रीमती तिब्बती मूलकी छेला नेपालीविरूद्ध यसअघि नै रेड कर्नर नोटिस जारी भए पनि हालसम्म पक्राउ पर्न सकेका छैनन्।
पक्राउ पुर्जी जारी भएकामध्ये चित्रबहादुर भण्डारी, लालमति रोका, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगरलाई प्रहरीले यसअघि नै पक्राउ गरी मुद्दा चलाइसकेको छ । बागलुङ र पोखरामा गरी दुई ठाउँमा रहेको इमेज सहकारीमा चार हजार बचतकर्ताको २ अर्ब बढी रकम अपचलन गरेको आरोप मेयर नेपालीलाई लागेको छ ।
नेपालीले केही समय अगाडी सामाजीक संजाल फेशबुक मार्फत एक भिडियो सार्वजनिक गर्दै आफू सबै बचतकर्ताको रकम तिर्न तयार रहेको र त्यसकालागी उपयुक्त वातावरण मिलाई दिन अनुरोध गरेका थिए ।































