काठमाडौं : यहीँ फागुन ५ र ६ गते काठमाडौंमा चौंथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने भएको छ। सम्मेलनमा लघुवित्त क्षेत्रमा देखिएका समस्या र चुनौतीबारे छलफल गर्दै रणनीति बनाउने तयारी रहेको छ ।
स्वावलम्बन विकास केन्द्र र नेपाल आर्थिक पत्रकार समाज९सेजन०को संयुक्त आयोजनामा हुन लागेको उक्त सम्मेलनमा नियामक, नीतिगत र सरकारी निकायका प्रतिनिधिहरु, लघुवित्त संस्थाका नेतृत्वकर्ता, सञ्चालक, लघुवित्तकर्मी, सेवाग्राही सदस्य, जनप्रतिनिधि गरी ७ सय जनाभन्दा बढीको सहभागिता रहने आयोजकको भनाई छ ।
उक्त सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। नेपालमा बिगत १०–१२ वर्षहरु लघुवित्त क्षेत्रका लागि सुनौला दिन रहेपनि पछिल्लो समय केही लघुवित्तमा समस्या देखिएकाले त्यसलाई पहिचाहन गर्दै निराकरण गर्ने उद्देश्य सहित सम्मेलन आयोजना गरिएको अध्यक्ष शंकरमान श्रेष्ठले जनाएका छन् ।
त्यस्तै विश्वका १७८ ओटा देशमा सञ्चालन भइरहेको लघुवित्त मोडल ग्रामीण अर्थतन्त्रको पुनर्संरचनाका लागि उपयुक्त रहेको श्रेष्ठको दावी छ । तर, पछिल्लो समय देखिएका केही विकृतीले गर्दा नेपालमा लघुवित्त सेवा बदनाम हुन थालेको भन्दै यसलाई सुधार गर्न जरुरी देखिएको श्रेष्ठको भनाई छ । लघुवित्त संस्थाहरुले वित्तीय सेवासँगै शिक्षा, तालिम, सामाजिक कामहरु गर्नुपर्नेमा आफ्नो भूमिका बिर्सिदै गएको श्रेष्ठले गुनासो गरेका छन् ।
हाल लघुवित्त वित्तीय संस्थाहरु र लघुवित्त गर्ने सहकारी संस्थाहरुले नेपालको ७७ वटै जिल्लामा पुगेर लघुवित्त सेवा प्रदान गरी रहेका छन् । हाल ५७ वटा लघुवित्त संस्थाहरुले ५ हजार ८२ शाखाहरूमार्फत् करिब ६० लाखलाई लघुवित्तमा आवद्ध गरेका छन् । यसमध्ये २८ लाख सदस्यहरुले लघुवित्त गर्ने संस्थाबाट ऋण लिएर व्यवसाय गरी रहेका छन् । लघुवित्त गर्ने संस्थाहरुले ४ खर्ब ३२ अर्ब रूपैयाँभन्दा बढी कर्जा लगानी पनि गरेका छन् ।

































