काठमाडौँ । सहकारी व्यवस्थापन समितिको कार्यालयले तुलसी बहुमुखी सहकारीका बचतकर्तालाई ३५ दिनभित्र अनलाइनमार्फत बचत रकम माग दाबी पेस गर्न आग्रह गरेको छ ।
विराटनगरमा केन्द्रीय कार्यालय रहेको सहकारीलाई सहकारी ऐन २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा गरी सोही ऐनको दफा १०५ बमोजिम उक्त संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि समितिमा आएको जनाइएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भदौ २५ गते गरेको निर्णयअनुसार उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरिसकेको छ । सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरिसकेको छ ।
संस्थाका अध्यक्ष तथा शिखर अर्गनाइजेसनका सञ्चालक शर्माले बचतकर्ताको १२ अर्ब २३ करोड ५१ लाख ८३ हजार ५७७ रुपैयाँ रकम अपचलन गरेका छन् । त्यसमध्ये ६ अर्ब रुपैयाँभन्दा बढी भारतमा लगेको सीआईबीले जानकारी गराएको छ ।
प्रहरीका अनुसार सहकारीमा जम्मा भएको बचत हिनामिना गरी शर्माले ४३ वटा निजी कम्पनीमा लगानी गरेका छन् । प्रहरीले ती कम्पनीको मूल्याङ्कन २२ अर्ब रुपैयाँ बराबर भएको जनाएको छ ।
शर्माले पहिला भारतबाट विभिन्न प्रकारका खाद्यवस्तु आयात गरी बिक्री गर्दै आएका थिए । पछिल्ला वर्षहरूमा शर्माले भारतमा राजनीतिक र कर्मचारीतन्त्रसँग सम्बन्ध स्थापित गरी भारतीय नागरिकसँगको साझेदारीमा कम्पनी दर्ता गरी नेपालबाट पुँजी पलायन गर्दै आएका थिए ।
तथापि, पैसा कसरी भारत पुर्याए भन्ने खुलिसकेको छैन । शर्माले भारतीय साझेदारीसहित शिव शिखर अर्गनाइजेसनको नाममा भारतमा कम्पनी खोलेको र बचतकर्ताबाट उठाएको रकम लगानी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको सीआईबीले जनाएको छ।
शर्माले बचतकर्ताको रकमले नातेदारका नाममा २८९ वटा सवारी साधन खरिद गरेको समेत अनुसन्धानबाट खुलेको छ। शर्माले भारतमा रहेका कम्पनीमा ६ हजारभन्दा बढीले रोजगारी पाएको दाबी गरेका छन् । शर्माले बचतकर्ताको रकमबाट नजिकका व्यक्तिको नाममा जग्गा जमिनसमेत किनेको पाइएको छ । केही जग्गा भने निजी कम्पनीको नाममा विभिन्न नाममा उद्योग खोल्न भनेर किनेको पाइएको सीआईबीले जनाएको छ ।

































