काठमाडौँ। ओरालो लागेको शेयर बजारमा आज चमक देखिएको छ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष सन्तोष नारायण श्रेष्ठ नियुक्त भएसँगै शेयर बजारमा हरियाली देखिएको हो ।
लगातार दुई कारोबार दिनमै बजारमा सकारात्मक वातावरण बनेको छ भने कारोबार रकम पनि उल्लेखनीय रूपमा बढेको छ । श्रेष्ठको नेतृत्वलाई बजारमा नयाँ आशा र उत्साहका रूपमा हेरिएको छ । लगानीकर्ताको मनोबल उच्च हुँदै गएको र बजारमा सकारात्मक परिवर्तन देखिन थालेपछि अर्थतन्त्रप्रति भरोसा बढेको छ ।
त्यसको साथै मौद्रिक नीतिको पहिलो समीक्षाले पुँजी बजारमैत्री नीति ल्याउनेमा लगानीकर्ताको अपेक्षा रहेको छ । पछिल्लो समय बैंकहरूको ब्याजदर निरन्तर घट्दै आएको छ। यसकारण समेत लगानीकर्ता शेयर बजारमा हुमिएको देखिन्छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३८.८१ अकंले बढेर २७५५.४७ बिन्दुमा कायम भएको छ। आज ३१६ कम्पनीको १ करोड ७१ लाख ८३ हजार ८५४ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।आज फाइनान्स समूहबाहेक अन्य १२ उपसूचकमा हरियाली देखिएको छ । बुधबार बैंकिङ समूहको ०.३२ प्रतिशत, विकास बैंक समूहको ३.१८ प्रतिशतले शेयर मूल्य बढेको छ ।
उक्त दिन बजारमा वृद्धि हुँदा बिशाल बजार कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सपोर्ट माइक्रोफाइनान्स लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, मानुषी लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंकको सेयरमा सकरात्मक सर्किट लाएको छ ।


































