काठमाडौं । प्याजको निर्यातमा भारतले अनिश्चितकालीन प्रतिबन्ध लम्ब्याएको छ। भारतले आम निर्वाचन अघि चालेको यस आश्चर्यजनक कदमले विदेशी बजारहरुमा प्याजको मूल्य उच्च हुने अनुमान गरिएको छ ।
विश्वको सबैभन्दा ठूलो तरकारी निर्यातकको रुपमा चिनिने भारतले प्याज निर्यातमा गत डिसेम्बरमा लगाएको प्रतिबन्ध यसै मार्च ३१ मा सकिँदै थियो। निर्यात प्रतिबन्ध लागू भएदेखि भारतको स्थानीय बजारमा मूल्य आधाभन्दा बढी घटिसकेको छ।
साथै, यस सिजनको उत्पादन भित्र्याउने समय पनि भएका कारण भारतीय व्यापारीहरुले निर्यात प्रतिबन्ध हट्ने अनुमान गरेका थिए । तर, सरकारले शुक्रबार आदेश जारी गर्दै अर्को सूचना नआएसम्म प्रतिबन्ध यथावत रहने जनाएको छ।
घट्दो मूल्य र बढ्दो नयाँ उत्पादनका कारण प्रतिबन्ध लम्ब्याउनु अनावश्यक रहेको मुम्बईस्थित एक निर्यात कम्पनीले बताएको रोयटर्सले उल्लेख गरेको छ । सबैभन्दा ठूलो प्याज उत्पादन गर्ने राज्य महाराष्ट्रका केही थोक बजारहरुमा प्याजको मूल्य डिसेम्बरमा प्रति १०० किलो ४ हजार ५०० भारु रहेकामा अहिले घटेर प्रति १०० किलो १ हजार २०० रुपैयाँमा झरेको छ ।
नेपाल, बंगलादेश, मलेसिया, संयुक्त अरब इमिरेट्सलगायत देशहरुले प्याजको घरेलु मागहरु संबोधन गर्न भारती आयातमा भर पर्दै आएका छ । प्रतिबन्ध लम्बिएपछि यी देशहरुमा प्याजको मूल्य थप बढ्नसक्ने देखिन्छ ।


































