काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो तीन सय ग्राम अवैध सुनसहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार राति १२ बजे फ्लाई दुबईबाट आएकी श्रीलंकाली नागरिक ४५ वर्षीया कान्था माथा काभास्कर नामकी एक महिला पक्राउ परेकी हुन्। उनले लगाएको ब्राभित्र प्लास्टिकले बेरेको ५ सय ग्रामका दुई थान र कट्टुभित्र स्प्रे गरेको अवस्थामा ३ सय ग्राम सुन बरामद भएको हो।
राहदानी नम्बर ८१५१३८५ भएकी निज महिलाले लगाएको ब्राभित्र प्लाष्टिकले बेरेको अर्धठोस सुन दुई पोका तौल पाँच सय ग्राम तथा लगाएको कट्टुभित्र आठ सय ग्राम सुन गरी कुल एक किलो तीन सय ग्राम सुन बरामद गरिएको हो ।
विमानस्थलमा सुरक्षा जाँचका क्रममा उनलाई पक्राउ गरेको विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले बताए। यसबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको छ।

































