काठमाडौँ । देशभर मनसुन सक्रिय भइरहँदा पनि मधेश प्रदेशमा पर्याप्त वर्षा नहुँदा त्यहाँको कृषि क्षेत्र प्रभावित भएको छ । यही कारण बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मधेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ ।
प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार लगातारको खडेरीका कारण धान रोप्न समस्या भएको छ भने पहिले रोपिएको धान पनि सुक्न थालेको छ । खेतबारी चिरा परेपछि स्थिति गम्भीर बन्दै गएपछि यस्तो निर्णय गरिएको हो ।
मन्त्रिपरिषदले सुक्खाग्रस्त क्षेत्र घोषित मधेशका किसानहरूका लागि तत्काल राहत प्याकेजको आवश्यकता औँल्याउँदै संघीय सरकारसँग विशेष सहयोगको माग गरेको छ । यस्तै, कृषि क्षेत्रमा क्रियाशील दातृ निकायहरूलाई पनि सक्रिय भूमिका खेल्न आग्रह गरिएको छ ।
बैठकले पर्साको वीरगञ्जसहित प्रदेशका विभिन्न जिल्लामा देखा परेको खानेपानी संकट समाधानका लागि ट्यांकरलगायत वैकल्पिक माध्यम प्रयोग गर्ने निर्णय गरेको छ । साथै, संघीय खानेपानी मन्त्रालयसँग समन्वय गरी समस्या समाधान गर्न आग्रह गरिएको प्रदेश सरकारको भनाइ छ ।




































