काठमाडौँ। सर्वसाधारणका लागि निष्कासन भएको पहिलो दिनमै महुली लघुवित्तको एफपीओमा ४१.३५ गुणा बढी आवेदन परेको छ।
साँझ ५ः३० बजेसम्ममा १ अर्ब ९६ करोड ६० लाख ५९ हजार रुपैयाँ बराबरको आवेदन परेको सिडिएस एण्ड क्लियरिङले उल्लेख गरेको छ । कम्पनीको एफपीओमा १३ लाख ८६ हजार २०३ जनाले १ करोड ९६ लाख ६० हजार ५३० कित्ताका लागि आवेदन दिएका छन् ।
यो कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको सेयरको ४१.३५ गुणा बढी हो। महुली घरेलु लघुवित्तले पुस ५ गतेदेखि ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ निष्काशन गरेको हो।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ४ लाख ७५ हजार ४४९ कित्ता सेयर निष्काशन गरेको हो । उक्त एफपीओमा लगानीकर्ताले पुस ९ गतेसम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।


































