काठमाडौंं । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले क्षति पुर्याएको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रबाट आंशिक रूपमा विद्युत् उत्पादन सुरु भएको छ।
वर्षाका कारण आएको पहिरोले क्षति पुर्याएका संरचनाहरूको आंशिक मर्मत सम्भारपछि मंगलबार साँझ ७ः ४० बजेबाट देखि पुनः विद्युत् उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको हो। हाल नदीमा उपलब्ध पानीको बहावलाई पूर्ण रूपमा प्रयोग गरी १२० मेगावाट विद्युत् उत्पादन गरिएको छ। माथिल्लो तामाकोशी जलविद्युत गृहको क्षमता ४५६ मेगावाट विद्युत् उत्पादन छ।
वर्षाकासँगै तामाकोशी नदीमा पानीको बहाव उच्च भएपछि असोज ११ गते बेलुकादेखि केन्द्रबाट विद्युत् उत्पादन बन्द गरिएको थियो।असोज १२ गतेको पहिरोले बाँध स्थलभन्दा केही तल दायाँतर्फ रहेका नियन्त्रण कक्ष कन्ट्रोल रुम भवन, बालुवा थिग्र्याउने पोखरी डिस्याण्डर र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने भूमिगत नहर कल्भर्टमा क्षति पुर्याएको थियो। गोङ्गरको विद्युतृगृहबाट लामा बगरको बाँध स्थलतर्फ जाने झण्डै तीन सय मिटर पहुँच मार्ग खण्डमा ठूल्ठूला ढुङ्गा खसेर सडक अवरुद्ध भएको थियो ।
विस्फोटक पदार्थको प्रयोग गरी ढुङ्गालाई फुटाएर सडक खुलाइएको थियो । केन्द्रबाट उत्पादित विद्युत् प्रवाह गर्न गोङ्गर–खिम्ती दुई सय २० केभी प्रसारण लाइनको सिङ्गटीमा रहेको ४६ नम्बर टावरमा वर्षाका कारण क्षति पुगेको थियो । दुई वटा डिस्याण्डरमध्ये बायाँतर्फको डिस्याण्डरको आंशिक मर्मत सम्भार सकिएर विद्युत् उत्पादनका लागि तय गरिएको समय तालिकाभन्दा एक दिनअघि उत्पादन सुरु गरिएको हो ।
आंशिक रूपमा क्षति पुगेको डिस्याण्डरको पर्खालको पुरानो ढलानलाई भत्काएर मर्मत गरिएको छ । यसैगरी,कर्ल्भटको भित्ता र सिलिङमा देखिएका चिराहरूको ग्राउटिङ गरी मर्मत गरिएको छ । पहिरोले क्षति पुर्याएको डिस्याण्डर आंशिक मर्मत गरी तत्कालका लागि माथिल्लो तामाकोशीलाई नदी प्रवाहीका रूपमा सञ्चालनमा ल्याइएको हो । डिस्याण्डरको बाँकी मर्मत सम्भार भइरहेको छ ।
उक्त मर्मतको काम सम्पन्न भएपछि विद्युत् कम माग हुने समयमा पानी जम्मा गरी बढी माग हुने बिहान र बेलुकाको समय पिक आवरमा केन्द्रलाई ४ घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ। केन्द्रलाई पुस महिनाभित्रमा पिक समयमा चलाउन सक्ने गरी मर्मत सम्भार भइरहेको छ । जलविद्युत केन्द्रको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेड सञ्चालक समितिका अध्यक्षसमेत रहेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कम्पनी सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत सिइओ सहितको टोलीले गएको मङ्सिर १८ मा स्थलगत अनुगमन गरी पुस १० भित्रमा मर्मत सम्भार सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने तालिका तय गरेको थियो ।
कार्यकारी निर्देशक घिसिङले कम्पनी सञ्चालक समिति, व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीको निरन्तर प्रयास र रातदिनको खटाइबाट माथिल्लो तामाकोसीको मर्मत सम्भार सम्पन्न भई तालिकाभन्दा एक दिन अघि नै विद्युत् उत्पादन सुरु गर्न सफल भएको बताए। देशकै ठूलो विद्युतगृह बन्द हुँदा विद्युत् आपूर्ति व्यवस्थापनमै असहजता उत्पन्न भएको थियो ।
केन्द्रबाट आंशिक रूपमा विद्युत् उत्पादन सुरु भएसँगै भारतबाट गरिने विद्युत् आयात सन्तुलन कायम गरी पिक समयको विद्युत् आपूर्तिमा सहजता हुनेछ । जलविद्युत केन्द्रका सम्पूर्ण संरचनाको बीमा गरिएकाले क्षति पुगेको संरचनाको मर्मत सम्भार खर्च बीमाबाट प्राप्त रकमबाट बेहोरिने छ । कम्पनीले पहिरोले पुर्याएको क्षतिको १ अर्ब ७८ करोड रुपैयाँको प्रारम्भिक बीमा दाबी गरेको थियो ।कम्पनी र विमक राष्ट्रिय बीमा कम्पनीबाट संयुक्त रूपमा क्षतिको यकिन मूल्याङ्कन भइरहेको छ । यो काम सम्पन्न भएपछि बीमाको रकम भुक्तानी प्राप्त हुनेछ ।यसैगरी, विद्युत् बिक्रीबाट प्राप्त हुने आम्दानीको तीन महिनाको बीमा गरिएको छ ।



































