काठमाडौँ । सरकारसँग तीन पटकसम्म वार्ता हुँदासमेत निष्कर्षमा नपुगेपछि मिटरब्याज पीडितहरूले आन्दोलनलाई थप सशक्त बनाउँदै लैजाने घोषणा गरेका छन्।
सरकारसँगको वार्ता निष्कर्षमा पुग्न नसकेपछि वार्तासँगै आन्दोलनलाई समेत सशक्त बनाएर अघि बढ्ने मिटर ब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुश्वाहले जानकारी दिए । ‘मिटर ब्याजविरुद्ध न्याय मार्च’ गर्दै काठमाडौँ आइपुगेका मिटर ब्याज पीडितहरूले ६ बुँदे माग अघि सारेर माघ १६ गतेदेखि आन्दोलन गर्दै आएका छन्।
आन्दोलनको बिचमा सरकारसँगको वार्तालाई भने निरन्तरता दिने संघर्ष समितिका अध्यक्ष कुश्वाहको भनाई छ।
मिटर ब्याज अपराधबाट सिर्जित समस्यालाई समाधान गर्न अघि सारेका ६ बुँदे मागप्रति सरकारले बेवास्ता गरेको उनको आरोप छ। सरकारले आफूहरूको मागप्रति थप बेवास्ता गरेको खण्डमा आन्दोलनको रूप चर्काउँदै लैजाने उनीहरूको सामूहिक भनाई छ ।
'हामीले शान्तिपूर्ण ढगंले हाम्रो माग राखेका छौ सरकारले पटक पटक हाम्रो भावनासँग खेलवाद गर्ने बाहेक अर्को उपलब्धि केही गरेको हामीले पाएका छैनौ यसरी हामी आन्दोलन गर्दै जाने सरकारले वे-वास्ता गर्दै जाने हो भने हाम्रो आन्दोलनको शैली बद्लिन्छ हामी मर्न तयार छौ तर आन्दोलनको मार्ग छोडेर दायाँबायाँ हुने छुट हामीलाई छैन,। एक आन्दोलनकर्मीले भने ।
सरकारले मिटर ब्याज सम्बन्धी जाँचबुझ आयोग २०७९ गठन गरेको थियो । त्यसले गरेको काम कारबाही अपूर्ण एवम् विफल भएको पीडितहरूको भनाइ छ। आन्दोलनका कार्यक्रम अन्तर्गत आज उनीहरूले ‘सिट्ठी जुलुससहित बालुवाटार मार्च’ को आयोजना गरेका छन्। मार्च पास भृकुटीमण्डपबाट सुरु भई पुतलीसडक, डिल्लीबजारबाट कमलपोखरी, टंगाल हुँदै बालुवाटार र सोही रुट फिर्ता हुने कार्यक्रम तय भएको उनीहरूको भनाई छ ।































