काठमाडौँ । चालु आवको साउनदेखि मङ्सिर मसान्तसम्ममा नेपालको उत्तरी नाका रसुवागढीबाट आयात भएका मालसमानको मूल्य सार्वजनिक भएको छ ।
चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा (साउनदेखि मङ्सिर मसान्तसम्म) कुल एक सय २४ अर्ब ४२ करोड मूल्य बराबरको तयारी कपडा, विद्युतीय सामग्री, विद्युतीय सवारी साधन, जुत्ता, चप्पल, लसुन, स्याउ, ओखर, जस्ता वस्तु आयात भएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।
यस्तै गलैँचा, बक्रम कपडा, तयारी कपडा जडीबुटी, अगरबत्ती समेत रु १५ करोड बराबरको विविध सामग्री निर्यात भएको भन्सार कार्यालयले जनाएको छ । आयात सामग्रीको नियमानुसार मूल्यांकनबाट १२ अर्ब ४७ करोड राजस्व दाखिला भइसकेको र आयात मालसामान बोकी भन्सार हातामा प्रवेश गरिसकेका करिब दुई सय कन्टेनरको धमाधम मूल्यांकन कार्य अगाडि बढिरहेको बताइएको छ ।
चीनबाट आयात भएका सवारी साधन व्यवस्थित पार्किङ नहुँदा घामपानी र शीतका कारण पोलिसको बाहिरी भाग बिग्रने सम्भावना बढेको देखिएको तथा लामो समयको पार्किङपछि मालधनीले काठमाडौँमा पु¥याई बिक्री गर्दा चाँडै रङ्ग उप्किई त्यसको असर उपभोक्तालाई पर्ने सवारी चालकहरूको गुनासो छ ।


































