काठमाडौँ । सरकारले आन्तरिक ऋण उठाउनलाई सुरु गरिसकेको छ । चालु आर्थिक वर्षमा तय गरेको वार्षिक लक्ष्य प्राप्त गर्नका लागि यही साउनदेखि नै आन्तरिक ऋण उठाउन सुरु गरिएको हो ।
सोही क्रममा नेपाल राष्ट्र बैंकले सरकारको १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। राष्ट्र बैंकले ११ वर्षे विकास ऋणपत्र २०९२ बिक्री गर्ने जनाएको छ ।
उक्त विकास ऋणपत्र बोलकबोल प्रक्रियाबाट निष्काशन गर्न लागिएको बैंकले उल्लेख गरेको छ । बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकले यो विकास ऋणपत्र खरिद गर्न पाउनेछन।
साउन १६ गतेका दिन बोलकबोल हुने ऋणपत्र साउन १७ गते निष्काशन गरिने राष्ट्र बैंकले जानकारी दिएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा सरकारको आय व्यय निर्धारित वार्षिक लक्ष्यको तुलनामा निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष कूल लक्ष्यको ७४ दशमलव २९ प्रतिशत राजस्व असुली भएको छ भने ८० दशमलव ४४ प्रतिशत बजेट खर्च भएको छ ।
गत आर्थिक वर्षका लागि सरकारले कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । असार मसान्तसम्ममा कूल १४ खर्ब आठ अर्ब ७६ करोड ४५ लाख रुपैयाँ बराबर मात्रै खर्च भएको छ । चालु शीर्षकमा गत आर्थिक वर्षका लागि ११ खर्ब ४१ अर्ब ७८ लाख ४१ हजार रुपैयाँ बराबर बजेट विनियोजन भएकोमा लक्ष्यको ८३ दशमलव ४१ प्रतिशत अर्थात् नौ खर्ब ५२ अर्ब ४१ करोड ५१ लाख रुपैयाँ बराबर खर्च भएको छ ।



































