कञ्चनपुर । बेलडाँडी गाउँपालिका–३ बैवाहाका खडकबहादुर चौधरीले पाँच वर्षदेखि वसन्ते मकैखेती गर्दै आएका छन् । वर्णशङकर (हाइब्रिड) १२०८ जातको मकैखेती गरेर उनले चार महिनामा रु ३० हजारदेखि रु ७० हजारसम्म आम्दानी गरे । पाँच कट्ठा जग्गामा लगाइएको मकैको एउटै बोटमा तीनदेखि चारवटासम्म घोगा लाग्ने गरेको छ ।
उन्नत जातको भन्दा गुणस्तरीय वर्णशङ्कर जातका मकैको खेती गर्दा २५ देखि ३० प्रतिशतले बढी उत्पादन हुने गरेको छ ।
मकैको डाँठ भने मेसिनमा काटेर घरमा पालेका बाख्रा, बङ्गुर, भैँसीलगायतका लागि भुसासँगै मिसाएर खुवाउन प्रयोगमा ल्याइने गरिएको शङ्कर चौधरीले बताए। बैवाहाका १५ बढी किसानले चार कट्ठादेखि सात कट्ठा जग्गामा वसन्ते मकैखेती गरेका छन् । मकैको उत्पादन लिएपछि यहाँका किसानले धान रोप्ने भएकाले छोटो अवधिमै पाक्ने मकैखेतीलाई बढावा दिँदै आएका छन् ।
कुनै किसानले १२८०, कुनैले अरुण–२, अरुण–६ जातका मकैखेती गरेका छन् । “पाँच कट्ठा जग्गामा लगाइएको मकैखेतीबाट गत वर्ष रु ८० हजार आम्दानी भएको छ”, रामलाल चौधरीले भने, “छोटो अवधिमा सोचेभन्दा बढी आम्दानी हुँदा यस वर्ष पनि मकैखेतीलाई निरन्तरता दिएका छौँ ।” वसन्ते मकैखेती गरेका अधिकांश किसानले बाख्रापालन गरेका छन् ।
मकैका बोट निश्चित दूरीमा लगाइने भएकाले गोडमेल गर्न सहज हुनुका साथै सिँचाइ, गोडमेल गर्न, मलखाद छर्न सहज हुने गरेको किसान बताउँछन् । झारपात व्यवस्थापनसँगै रोग कीरा रोकथामका लागि कृषि प्राविधिकसँग किसानले सल्लाह लिने गरेका छन् । वसन्ते मकैखेतीबाट सोचेभन्दा बढी आम्दानी हुने भएकाले बढी जग्गामा खेती गर्न किसान उत्साहित छन् ।
































