काठमाडौँ। नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा जाँदा ५६ अर्ब बाहिरिएको छ।
राष्ट्र बैंकले आज सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अध्ययनका लागि नेपाली विद्यार्थी विदेश जाँदा चालु आर्थिक वर्षको ६ महिनामा ५६ अर्ब ८३ करोड रुपैयाँ बाहिरिएको तथ्यांकमा उल्लेख छ ।
गत वर्षको सोही अवधिको तुलनामा यस शीर्षकमा बाहिरिने रकममा भने कमी आएको छ । गत आवको सोही अवधिमा शिक्षातर्फ ५८ अर्ब ९५ करोड रुपैयाँ बाहिरिएको थियो।
चालु आवको पौष मसान्तसम्म खुद सेवा आय ४३ अर्ब ५३ करोडले घाटामा रहेको छ । गत वर्षको सोही अवधिमा खुद सेवा आय ३५ अर्ब ४३ करोडले घाटामा रहेको थियो ।
पछिल्लो ६ महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय ९.७ प्रतिशतले वृद्धि भई १०१ अर्ब ९२ करोड पुगेको छ। गत वर्षको सोही अवधिमा भ्रमण व्यय ९२ अर्ब ८७ करोड रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।


































